बाढी, पहिरो र डुबानमा परेर १११ जनाको मृत्यु, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर १११ जनाको मृत्यु, ३७ जना बेपत्ता

अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर शुक्रबार दिउँसोसम्म १११ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परेर प्रदेश १ मा ६५ जना, बागमती प्रदेशमा एकजना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो। 

साथै  प्रदेश १ मा २१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

बाढी पहिरोमा परी प्रदेश १ मा ११ जना, प्रदेश २ मा एकजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८  वटा घर परिवार विस्थापित भएका छन्।

साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत भइरहेको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध समेत  हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।