१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

काठमाडौँ । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको रावलले बताए ।

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।