एनसीसीहरूको विश्व सम्मेलनको तयारी पुरा

एनसीसीहरूको विश्व सम्मेलनको तयारी पुरा

गैर आवासीय नेपाली संघ (एनआरएन) को दसौँ महाधिवेशन रोकिएपछिको अन्योल चिर्न एनसीसीहरूको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न उनीहरूले आग्रह गरेका हुन् ।

महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी ) हरूको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताए । ‘एनसीसीका साथीहरूले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि  नै भेला आयोजना गरेका हौँ’ उनले भने । यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको स्पष्ट पारे ।

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौँ । यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भने, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौँ । विधानको १६.४ मा एनसीसी अध्यक्षहरूको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ । हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्‍याउने छौँ ।’ संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व  भेला आयोजना गर्न लागेको उनले बताए । -रातोपाटीबाट