टी–२० विश्वकप: सुपर १२ का खेलहरू आजदेखि, पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

टी–२० विश्वकप: सुपर १२ का खेलहरू आजदेखि, पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

टी–२० विश्वकपको सुपर १२ चरणका खेलहरू आजदेखि सुरु हुँदैछ । समूह एकको पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा अबुधाबीमा सुरु हुनेछ । दुवै टोली उपाधि दाबेदार रहँदै आएपछि हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन् ।

यो समूहका अन्य टोलीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । समूहका रहेका ६ टोलीमध्ये शीर्ष दुई सेमिफाइनलमा पुग्नेछन् । त्यही भएर आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

यस विश्वकपका चार क्वालिफायर खेल अबुधाबीमा भएको थियो । यसमध्ये तीनमा दोस्रो ब्याटिङ गर्ने टोली विजयी बनेको थियो । तर, हालसम्मका सबै खेललाई हेर्ने हो भने पहिलो ब्याटिङ गर्ने टोलीले नै धेरै जीत हासिल गरेका छन् ।

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले उनको टोली ७ जना ब्याट्सम्यान र चारवटा विशेषज्ञ बलर लिएर मैदानमा उत्रने बनाएका छन् । यसमा ग्लेन म्याक्सवेल, मिचेल मार्स र मार्कस स्टोइनिसले अलराउन्डरको भूमिका निभाउन सक्नेछन् । दक्षिण अफ्रिकी टोलीले अस्ट्रेलियाको चुनौतीलाई हेर्दै सुरुवाती ११ मा दुईवटा स्पीनरलाई सामेल गर्न सक्ने अनुमान गरिएको छ ।

हेड टु हेड खेलहरूमा दुई टोली २१ पटक भिडेका छन् जसमा अस्ट्रेलियाले १३ र दक्षिण अफ्रिकाले ८ खेलमा जीत हासिल गरेका छन् । आज नै समूहको दोस्रो खेलमा साँझ वेस्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।