जानिराखौ किन पढ्ने बीएससी सीएसआईटी ?

जानिराखौ किन पढ्ने बीएससी सीएसआईटी ?

कक्षा १२ को परीक्षाफल कुरिरहेका विद्यार्थी अब विश्वविद्यालयको ढोका उघाँर्न तम्तयार छन् । आज हामी स्नातक तहमा पढाइ हुने विभिन्न शैक्षिक कार्यक्रममध्ये ‘बीएससी सीएसआईटी’ को चर्चा गर्दैछौं ।

याे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ल्याएको चार वर्षे शैक्षिक कार्यक्रम हाे । कम्प्युटरसम्बन्धी दुई वटा कोर्षलाई मिलाएर सीएसआईटीको पाठ्यक्रम तयार पारिएको छ ।

यसमा कम्युटर साइन्सका लागि आवश्यक पर्ने र आईटीका लागि आवश्यक पर्ने दुवै कोर्षलाई मिलाइएको छ । जस्तो कम्प्युटर साइन्सका लागि स्ट्रङ म्याथम्याटिक्सको आवश्यक पर्छ, स्टाटिस्टिक्स्, फिजिक्स जस्ता कोर्ष छन् भने आईटीका लागि जाभा लगायतका विषयवस्तु राखिएका छन् ।

६० प्रतिशत कम्प्युटर साइन्सको कोर्ष छ भने ४० प्रतिशत आईटीसँग सम्बन्धित छ । जसले गर्दा विद्यार्थी बीएससी सीएसआईटी पढिसकेपछि आफ्नो इच्छाअनुसार अगाडि पढ्ने मौका पाउन सक्छन् ।

यसमा विद्यार्थीले कोर कम्प्युटर साइन्स र सूचना प्रविधिलाई मात्रै बुझ्ने भन्दा पनि समाज, व्यवस्थापन, भिजन, सोचसँग सम्बन्धित कुरा पनि सिक्न पाउने पौडेल बताउँछन् । उनी भन्छन्, ‘यसमा इन्टरडिसिप्लिनरी कोर्ष म्याथ, फिजिक्स, अंग्रेजी छन् ।

त्यस्तै, कम्प्युटर साइन्स र आईटी गरी तीन फरक कोर्षमा यसलाई वर्गीकरण गरिएको छ । जुन फन्डामेन्टल कोर्ष हुँदै एड्भान्समा पुग्छ ।’

पाँचौं सेमेस्टरबाट विद्यार्थीले आफूलाई मनपर्ने विषय छनौट गर्दै अघि बढ्न पाउँछन् । यसको उद्देश्य भनेको विद्यार्थिले विद्यालय तहबाट निस्किएर जाँदा भोलिका दिनमा आफूलाई मन लागेको क्षेत्रमा काम गर्न सहयोग पुर्‍याओस् भन्ने जस्तै हो ।

कुल १२६ क्रेडिट आवरको यो कोर्षमा त्रिविले समय अनुसार त्यसमा पढाई हुने पाठ्यक्रमलाई समेत परिमार्जन गर्दै आएको छ । पौडेलका अनुसार कोर्षको सुरुवात गर्दा सातौं र आठौं सेमस्टरमा कुनै एउटा विषयमा मात्रै फोकस भएर अध्ययन गर्ने खालको पाठ्यक्रम थियो ।

तर, विश्वव्यापी रुपमा ब्याचलर लेबलमा यो खालको प्रयोग नभएको पाइएकाले तत्कालै त्यसलाई हटाइयो । बीचबीचमा नयाँ नयाँ कोर्ष थपिँदै आए ।

भर्खरैमात्र कोर्षमा मोबाइल एप्लिकेसन डेभलपमेन्ट जस्ता व्यवहारिक विषय थप भएका छन् । अब पाइथन लगायतका कोर्षलाई पनि यसमा समावेश गर्ने तयारी भइरहेको छ ।

यसको उद्देश्य यो विषय पढ्ने विद्यार्थीको दायरा नेपालमात्रै नभएर विश्व नै भएकाले विश्वको माग अनुसारको शिक्षा आवश्यक छ भन्ने हो । त्यसैले विश्वव्यापी १२० क्रेडिट मात्रै हुने यो कोर्ष त्रिविले १२६ क्रोडिटको बनाएका छ ।

ता कि यहाँका विद्यार्थीले मास्टर पढन् विदेश जान चाहेको खण्डमा विदेशी विश्वविद्यालयमा पनि सहज होस् । बीएससी सीएसआईटी आईटी, कम्प्युटर साइन्स र सूचना प्रविधिबीचको संयोजनबाट तयार पारिएको शैक्षिक कार्यक्रम हो ।

पौडेल भन्छन्, ‘यो रिसर्चसँगै व्यवहारिक कोर्ष पनि हो । यस अन्तर्गत कम्प्युटर साइन्समा कम्प्युटर एप्लिकेसनहरुका सिद्धान्तहरु र प्रविधिमा जोड दिइन्छ ।’

प्रोजेक्ट वर्क र प्रयोगात्मक सिकाइ शैलीमार्फत कम्प्युटर साइन्स र आईटी दुवैका आधाभूत सिद्धान्तहरुबारे विद्यार्थीलाई ज्ञान दिनु यो कोर्षको प्रमुख उद्देश्य हो । यसले विद्यार्थीलाई व्यवहारमा आउने वास्तविक समस्याहरुको समाधान खोज्ने बाटो पनि पहिल्याउन मद्दत गर्छ ।

यो कोर्ष हाल नेपालका ५७ कलेजमा सञ्चालनमा छ । थप आवश्यक महसुस भएकाले कलेज संख्या बढाउने तयारी रहेको पौडेलले सुनाए ।

अध्ययनका लागि योग्यता

यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ ।

तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् :

१. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पूरा गरेको हुनुपर्ने ।
२. सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने ।
३. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
४. त्रिविले लिने इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण हुनेपर्ने ।
५. आवश्यक सम्पूर्ण निवेदन प्रक्रिया पुरा गर्नुपर्ने ।

कोर्षमा के-के छ ?

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ ।

पौडेलका अनुसार कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

चार वर्षको अवधीमा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ । जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ भने तेस्रो बर्षबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मन पर्ने एउटा विषय छनौट गरेर पढ्न पाउँछन् ।

पौडेलका अनुसार विद्यार्थीको मूल्यांकन ग्रेडिङ सिस्टम (जीपीए) मा हुन्छ । जसमध्ये धेरैमा ८० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

तर, प्रोजेक्ट वर्क भएका विषयको हकमा ६० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कन र २० अंक प्रोजेक्ट मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

सातौं सेमेस्टरमा विद्यार्थीले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नुपर्ने हुन्छ । जसमा उत्तीर्ण हुन ४० अंक ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौं सेमेस्टरमा विद्यार्थीले २०० पूर्णाङ्कको लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ । जसमा पास हुन ८० अंक ल्याउनुपर्ने हुन्छ । 

 

पढेर के पाइन्छ ?

बीएससी सीएसआईटी अवसर नै अवसर भएको विषय भएको बताउँछन् पौडेल । उनी भन्छन्, ‘हाल वार्षिक रुपमा १२ सय देखी १५ सयको हाराहारीमा बीएससी सीएसआईटीबाट विद्यार्थी निस्किन्छन् । यसरी निस्किएका विद्यार्थीले बेरोजगार भएँ भनेर आजसम्म कलेजमा भन्न आएको सुनिएको छैन ।’

पढाईको हिसाबले कोर कम्प्युटर साइन्सको ज्ञानका साथै आईटीको पनि ज्ञान हुने हुँदा आफूलाई मन लागेको हरेक क्षेत्रमा वसर छ । अझ पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोगमा उल्लेख्य वृद्धि भइहरहेको छ ।

यस्तामो त झन अझ बढी अवसर सिर्जना भएका छन् । हालको अवस्थामा सबैभन्दा ठूलो बजार भनेको बैंकिङ नै हो ।

तर, आईटी क्षेत्रमा धेरै उच्च आम्दानी गर्न सकिने काम गर्न सकिन्छ । उनीहरुले आफैंले आफ्नो कम्पनी खडा गरी त्यसलाई सञ्चालन गर्ने, एप बनाएर विदेशमा बेच्ने, सरकारी कार्यालयमा काम गर्ने, आउटसोर्सिङका काम गर्ने लगायतका धेरै अवसर यसले जुटाउन सक्छ ।

करियरको हिसाबले विद्यार्थीले सिस्टम एनालिस्ट, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम म्यानेजर, प्रोजेक्ट म्यानेजर, सफ्टवेयर प्रोग्रामर, वेब डेभलपर, वेब डिजाइनर, आईटी अफिसर, इन्फरमेसन सेक्युरिटी एनालिस्ट, डेटाबेस डिजाइनर, डेटाबेस एडमिनिस्ट्रेटर, नेटवर्क एडमिनिस्ट्रेटर, ग्राफिक्स डिजाइनर, इन्फरमेशन सिस्टम अडिटर, सफ्टवेयर क्वालिटी अस्योरेन्स इन्जिनियर, टेक्निकल कन्टेन्ट राइटर, क्रिप्टोग्राफर, एप्लिकेसन डेभलपर, टेलिकम्युनिकेसन इन्जिनियरलगायतको भूमिकामा काम गर्न सक्ने पौडेल बताउँछन् ।

त्यसभन्दा पनि आफूसँग नयाँ सोच भएको खण्डमा विद्यार्थी आफै आन्ट्रप्रेनरको रुपमा काम गर्न सक्दछन् । जुन अहिलको समयमा सबैभन्दा ठुलो अवसर पनि हो ।

किन पढ्ने ?

यो विषय पढ्ने वा नपढ्ने विद्यार्थीको रुचीमा भर पर्छ । यदि कुनै विद्यार्थीलाई कम्प्युटर र आईटीमा रुची छ, अनुसन्धानमा र सफ्टवेयर डेभलपमेन्टमा रुची छ भने त्यस्ता विद्यार्थीको लागि यो सबैभन्दा उत्कृष्ट कार्यक्रम हो ।

आईटीमात्रै गर्दा सफ्टवेयर तथा कुनै कम्पनीमा काम गर्नुपर्ने हुन्छ होला । तर, यसमा विद्यार्थीले ठूलो ठूलो अध्ययन अनुसन्धानमा सहभागी हुने मौका पाउन सक्छन् ।

त्यसो भएन भने पनि सफ्टवेयर डेभलपमेन्ट लगायतका क्षेत्रमा काम गर्न सक्छन् । तर यदि कुनै विद्यार्थीलाई हार्डवेयरमा रुची छ भने त्यस्तो विद्यार्थीका लागि भने यो सही विषय होइन ।