प्रचण्ड र माधवले छाडेर गएपछि एमाले राम्रो भयो: ओली

प्रचण्ड र माधवले छाडेर गएपछि एमाले राम्रो भयो: ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छाडेर गएपछि पार्टी नयाँ ढंगबाट एकताबद्ध भएको बताएका छन्।

एमालेको वडा अधिवेशनलाई देशव्यापी रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, ‘पार्टीमा लामै समयसम्म अराजकता र अनुसाशनहीनता भइरहेको थियो। पार्टीभित्रको समस्या आफ्नो स्वार्थ र कुण्ठालाई पार्टी जीवनलाई अस्वस्थ्य बनाउने प्रयास भइरह्यो। हामीले प्राप्त गरेको संविधान, लोकतन्त्र र देशको रक्षाविरुद्ध लागेर देशमा प्रतिगमनको प्रयास भइरहे।’

देश र जनताप्रति भन्दा आफ्नो स्वार्थ र कुण्ठाकै कारणले संविधान, लोकतन्त्रविरुद्ध देशमा प्रतिगमनको प्रयास भइरहेको आरोप लगाए।

प्रचण्ड(माधव लक्षित गर्दै ओलीले भने, ‘स्वार्थी तत्वहरू पार्टी छाडेर हिँडेपछि पार्टी एकताबद्ध भएको छ, त्यो खुसीको कुरा हो। पार्टीलाई कमजोर बनाउने र सरकारबाट हटाउने प्रयास भयो। प्रचण्ड पार्टी बहिर्गमन र माधव नेपाल गुटले नयाँ ढंगबाट अगाडि बढेपछि पार्टीले नयाँ रूपमा पाएको छ।’

पहिलोपटक एमालेले गरेको विधान महाधिवेशनले नै पार्टी एकताबद्ध भएको पुष्टि गरेको उनको दाबी छ। जनताको मन जित्न सकेकै कारणले एमाले देशको पहिलो पार्टी भएको बताए।

सत्तारूढ घटक नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेको प्रति व्यंग्य गरे। ​‘आफू लोकतान्त्रिक पार्टी भन्नेहरू महाधिवेशन गर्न नसकेर बसिरहेका छन्। संविधानअनुसार गर्न नसकेर फेरि ६ महिना थपेर पनि अझै १३ वटा भन्दा धेरै गर्न सकेको छैनन् क्यारे। तर, अहिले त्यता नजाऔँ’ ओलीले भने।