सुदूरपश्चिम सरकारद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

सुदूरपश्चिम सरकारद्वारा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

गोदावरी ।  सुदूरपश्चिममा बाढीपहिराे पीडितलाई राहत वितरण सुरु गरिएको छ। प्रदेश सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण थालेको हो। हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाडी जिल्लामा सो राहत सामग्री वितरण गर्न थालिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। क्षतिको विवरण सङ्कलन गरिसकेकाले बाढीपहिरो प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागेको उनले बताए।

कसैले पटक–पटक पाउने र कोहीले एक पटक पनि नपाउने गुनासोबाट मुक्त हुन सरकारसँग सहकार्य गरेरमात्रै राहत उपलब्ध गराउन प्रदेशमा कार्यरत सबै गैरसरकारी संस्थालाई निर्देशन दिइएको मन्त्री जोशीले बताइन्। बाढीले बढी क्षति पुर्‍याएको क्षेत्रमा मात्र राहत वितरण गर्न लागिएको छ। पहाडी क्षेत्रमा सडक अवरुद्ध भएकाले बाढीपीडितलाई राहत वितरण गर्न समस्या भएको उनको भनाइ छ। 

राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल र स्वास्थ्य सामग्री छ। आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ। सुदूरपश्चिममा हालसम्म बाढी पहिरामा परी ४३ जनाको ज्यान गएको छ भने २२ बेपत्ता छन् । यस्तै १७ जना घाइते छन्।