स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशमा कार्यक्षेत्र बढाउँदै

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशमा कार्यक्षेत्र बढाउँदै

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा बोर्डले कार्यक्षेत्र बढाउँदै गइरहेको छ । तर पछिल्लो समय स्वास्थ्य बीमाको सेवा लिनेहरुको संख्या भने अपेक्षित रुपमा बढ्न सकेको छैन् ।

बीमा बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार हाल प्रदेशका पाँच जिल्लामा रहेको बीमा कार्यक्रम चालू आर्थिक बर्षमा थप चार जिल्लामा पनि लागू गरी प्रदेशभरी नै बीमा कार्यक्रम पु¥याउने लक्ष्य राखिएको छ ।

फागुन महिना भित्रै कञ्चनपुर र दार्चुलामा कार्यक्रम बिस्तार भइरहेको छ । यस अघि कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू थियो । बाीम बोर्डले चालू आर्थिक बर्षको अन्तय सम्ममा सुदूरपश्चिम प्रदेश भरी नै आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने जनाएको छ ।

फागुन महिनामा सेवा शुरु हुन लागेका कञ्चनपुर र दार्चुला जिल्लामा बीमा बोर्डका स्वयमसेवक अभिकर्ताहरु छनौट भइसकेका छन् । बझाङ र डडेल्धुराका लागि पनि स्वयमसेवक छान्ने काम भइरहेको र बैशाख सम्ममा सबै काम सकिएपछि ती जिल्लामा पनि कार्यक्रम शुरु गरिने बीमा बोर्डका सुदूरपश्चिम संयोजक जनक बहादुर साउँदले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमले बीमामा सहभागी भएकाहरुलाई न्यूनतम ५० हजार रुपैया देखि अधिक्तम १ लाख रुपैया सम्मको उपचार निशुल्क गर्छ । यस्तै बिमितहरुलाई बीमा बोर्डले सूचीकृत गरेका १ हजार १ सय १८ वटा मध्ये रोग अनुसार औषधि पनि निशुल्क दिन्छ । परिवारमा पाँच जना सदस्य बराबर बार्षिक रुपमा २ हजार ५ सय रुपैया तिरेर बीमा गरेपछि पाँचै जनालाई बिभिन्न सरकारी अस्पतालहरुबाट निशुल्क रुपमा यी सेवाहरु पाइन्छन् ।

तर सरकारी अस्पतालहरुको समस्याका कारण औषधिहरु नपाउने र उपचारमा पनि ढिलाई हुन थालेपछि बीमा गर्नेहरुमा कार्यक्रमप्रति अरुचि बढिरहेको छ । कैलाली जिल्लामा हाल सम्म १ लाख १ हजार ५ सय ३५ जना स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन् ।

कैलाली जिल्लामा सेती अञ्चल अस्पताल सहित मालाखेती अस्पताल र अन्य प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट सेवा लिन सकिने गरी सेवा केन्द्र तोकिएका छन् । यी मध्ये मालाखेती बाहेक सबै अस्पतालसित आफ्नै फार्मेसी पनि छ । तर खोजेको औषधि नपाउने समस्याले बीमा कार्यक्रम प्रतिको आकर्षण घटिरहेको छ ।

बीमा गर्नेहरुले आफुले सबै स्वास्थ्य सेवा सहज रुपमा पाउनुपर्ने दाबी गरिरहन्छन् । अस्पतालमा स्वास्थ्य बीमा गर्नेहरुले उपचार मात्रै निशुल्क पाउँछन्, उपचारका लागि भने सबै प्रक्रिया पुरा गर्नुपर्छ ।

स्वास्थ्य बीमा बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक साउँदका अनुसार बिमितले सबै उपचार चाँडो चाहने र अस्पतालमा त्यसो नहुने भएपछि बीमा कार्यक्रममा धेरै मानिसलाई समेट्न समस्या भइरहेको छ ।