टि-२० विश्वकप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

टि-२० विश्वकप : आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

आइसिसी टि-२० पुरुष विश्वकप अन्तर्गत आइतबार सुपर १२ का २ खेल  हुँदैछन् ।

सुपर १२ को समूह ‘१’अन्तर्गत आज हुने पहिलो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सारजाह क्रिकेट मैदानमा हुनेछ ।

पहिलो चरण पार गरेर सुपर १२ मा स्थान बनाएका दुवै टोली आजको खेल जित्दै सुखद् सुरुवात गर्ने सोचमा हुनेछन् ।श्रीलंकाले पहिलो चरणबाट समूह ‘ए’को विजेता तथा बंगलादेशले समूह‘बी’को उपविजेताका हैसियतले सुपर १२ मा स्थान पक्का गरेका हुन् ।

विश्व क्रिकेटको ध्यान भने दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने ८ बजे आज हुने दोस्रो खेलमा हुनेछ । किनकि समूह ‘२’अन्तर्गत यो खेलमा विश्व क्रिकेटका दुई ठूला प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्दै छन् । यी दुईबीचको प्रतिस्पर्धालाई केबल खेलसँग मात्र नभएर देशको प्रतिष्ठासँग पनि जोडेर हेरिन्छ ।

यो खेल केबल भारत र पाकिस्तानको मात्र नभएर वर्तमान समयमा टि(२०का दुई उत्कृष्ट ब्याटर विराट कोहली र बाबर आजबीचको पनि प्रतिस्पर्धा हो ।

विराटले भारत तथा बाबरले पाकिस्तानको नेतृत्व सम्हाल्नेछन् । टि-२० दुई उत्कृष्ट टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान लगाउन सकिन्छ ।

टि-२० विश्वकपको इतिहासलाई हेर्ने हो भने भारत नै बलियो देखिन्छ । यसअघिका पाँचै भेटमा भारत विजयी भएको छ ।यी दुईले पहिलोपटक सन् २००७ को विश्वकपमा एक अर्काको सामना गरेका थिए । उक्त खेल निर्धारित २० ओभरमा बराबरी सकिएपछि भारत बोल आउटका आधारमा विजयी भएको थियो।

सन् २०१६ मा भएको पछिल्लो भेटमा भारत ६ विकेटले विजयी भएको थियो । पाँच वर्षपछि पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा भारतको लक्ष्य आफ्नो जितको यात्रालाई कायम राख्ने हुनेछ ।

पछिल्लो समय लयमा देखिएको पाकिस्तान पनि इतिहास भुलाउँदै टि-२० विश्वकपमा पहिलोपटक भारतलाई हराउने प्रयासमा हुनेछ ।