हाइपरसोनिक परीक्षणमा अमेरिकी सेना असफल

हाइपरसोनिक परीक्षणमा अमेरिकी सेना असफल

हाइपरसोनिक हतियार निर्माणमा अमेरिकाले हालै नयाँ असफलताबाट गुज्रिनुपरेको छ । जसमा यसका प्रतिस्पर्धी, रुस र चीनले चाहिँ अगाडि नै सफल परीक्षण गरिसकेका छन् । असफल परीक्षणबारे पेन्टागनले बिहिबार जानकारी दिएको हो । 
प्रजेक्टाइललाई हाइपरसोनिक गतिमा पुर्याउन प्रयोग गरिने रकेटको बुस्टर स्ट्याकले भनेजस्तो काम नगरेपछि परीक्षण असफल भएको हो । 

रकेट नै ‘फेल’ भएपछि हाइपरसोनिक हतियार निर्माणमा सबैभन्दा महत्वपूर्ण हाइपरसोनिक ग्लाइड बडि परीक्षण गर्न नसकिएको बताइएको छ । यस्तोमा अधिकारीहरु अहिले सो परीक्षणको विश्लेषण गरिरहेका छन् । किन असफल भयो भनेर बुझ्नका लागि । 

पेन्टागनका प्रवक्ता टिम गोरमन भन्छन्, “परीक्षण गर्दा सफलता र असफलता नै अत्याधिक जटिल प्रविधि निर्माणको मेरुदण्ड हो । यसमा पनि हाइपरसोनिक भनेको अत्यन्तै धेरै गतियुक्त प्रविधि हो । ”

रुस र चीनले धेरै समय अगाडि नै आ–आफ्नो भर्जनको हाइपरसोनिक हतियार निर्माण गरिसकेको हुँदा अहिले पेन्टागनले पनि यसलाई शिर्ष प्राथमिकतामा राखेर काम गरिरहेको छ । तर यो नयाँ असफलताले अमेरिकालाई फेरि पछि धकेलिदिएको छ । 

आवाजको गति भन्दा छिटो रफ्तारमा उड्न सक्ने हुनाले नै हाइपरसोनिक हतियारबारे पत्ता लगाउनु एकदमै कठिन हुन्छ ।

मिसाइल प्रतिरक्षा प्रणालीका लागि यो अत्यन्तै चुनौतिमय हुन सक्छ । यो सजिलै त्यस्ता प्रणालीको नजरबाट बचेर प्रहार गर्न सक्छ । 

गत हप्ता मात्र फाइनान्सियल टाइम्सले रिपोर्ट गर्दै चीनले सफलतापूर्वक आणविक हतियार बोक्न सक्ने हाइपरसोनिक ग्लाइडको परीक्षण गरेको खबर गरेको थियो । तर चीनले चाहिँ सो खबर अस्वीकार गर्दै केबल सामान्य स्पेसक्राफ्ट परीक्षण रहेको बताएको छ । 

त्यस्तै उता दुई हप्ता अगाडि रुसले पनि सबमरिनद्वारा लन्च गरिएको हाइपरसोनिक मिसाइल पहिलोपटक सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको थियो । 

यस्तोमा चीन र रुसको बढ्दो क्षमतालाई मध्य नजर राख्दै पेन्टागनले पनि २०२० को दशकको सुरुवाततिरै सफलता हासिल गर्न झन जरुरी बनेको छ । 

अमेरिकाले अहिले पानी जहाज, जमिन अनि हावामा आधारित परम्परागत हाइपरसोनिक हतियारमा केन्द्रित भइरहेको छ । 

चीनको डीएफ–१७ मध्यम रेन्जको हाइपरसोनिक हतियार आवाजको गति भन्दा पाँच गुणा छिटो यात्रा गर्न सक्षम छ ।