टोल स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक जनता युवा क्लब टिम 'ए' को कब्जामा

टोल स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक जनता युवा क्लब टिम 'ए' को कब्जामा

अछाम । दोस्रो टोल स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक जनता युवा क्लब टिम 'ए' ले उचालेको छ । चौरपाटी गाउँपालिका-१ स्थित जनता युवा क्लबले ''राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद'' भन्ने नारा सहित आयोजना गरेको टोल स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम 'ए' ले हात पारेको हो ।

आइतबार भएको फाइनल खेलमा आयोजक टिम 'ए' ले आयोजक टिम 'बि' लाई नै पराजित गरेको हो । सो उपाधि जितेसँगै आयोजक टिम 'ए' ले नगद १५ हजार बराबरको खसी हात पारेको छ । आयोजक टिम 'बि' ले भने १२ हजार बराबरको बोकामा चित्त बुझाएको छ ।

यस्तै तेस्रो हुने टिम चौरपाटीले ८ हजार बराबरको बोका पाएको छ । भने चौथो स्थान हासिल गर्ने टिम पातलले २ हजार बराबरको भाले हात पारेको आयोजक जनता युवा क्लबका सचिव मदन विक ले जानकारी दिए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरेन्द्र शाह घोषित भएका हुन ।

क्लबका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र चौरपाटी गाउँपालिकाका इञ्चार्ज राम बहादुर थापा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै दीपेन्द्र थापाले आफूहरूले यो क्लब एक वर्ष अगाडी मात्रै स्थापना गरेको जानकारी दिए ।

स्थापनाको छोटो समयमै क्लबले आर्थिक अभावको समस्या झेल्दै आए पनि खेलकुद लगायतका राम्रा काम गर्दै आएको बताए । यस्तै क्लबका प्रतिनिधि धुर्व शाहले स्थानीय सरकार लगायतका निकायले कुनै पनि सहयोग नगरेको आरोप लगाएका छन् । सहयोग गर्ने आश्वासन दिए पनि कुनै पनि सहयोग नपाएको बताए ।

यस्तै वडा सदस्य पदम शाहले खेलाडीहरू राष्ट्रका गहना भएको बताउँदै यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता वृद्धि हुने बताए । उनले आफ्नो तर्फबाट क्लबलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका चौरपाटी गाउँपालिका इञ्चार्ज राम बहादुर थापाले खेलकुदमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडी गाउँ र टोलबाटै उत्पादन हुने भएकाले राज्यले खेलकुद तर्फ ध्यान दिनु पर्ने बताए । गाउँपालिका लगायतका निकायले खेलकुदमा बजेट छुट्याए पनि खर्च नगर्ने गरेको उनको आरोप छ ।

उक्त बजेटको युवाहरूले खोजी गर्ने बेला समेत आएको उनले बताए । टोलको युवा क्लबले यति ठुलो भलिबल प्रतियोगिता सञ्चालन गरेको भन्दै थापाले क्लबलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूले निरन्तरता पाउने छन् भन्ने आफूले विश्वास लिएको उनको भनाई छ । असोज ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो ।