बाढी पहिरोले बैतडीको पुर्चौडी लगायत जिल्लाभरका अधिकांश ग्रामीण सडक अवरुद्ध

बाढी पहिरोले बैतडीको पुर्चौडी लगायत जिल्लाभरका अधिकांश ग्रामीण सडक अवरुद्ध

बैतडी । बेमौसमी बर्षाका कारण बैतडीका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् । ग्रामीण कच्ची सडकमा ठाउँठाउँमा पहिरो खसेले सडक अवरुद्ध बनेका हुन् । स्थानीय तहहरुले डोजर लगाएर खनेका अधिकांश सडक अवरुद्ध बनेका स्थानीयहरुले बताएका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ । सडक खुलाउन अझै कहिँकतैबाट प्रयास भएको छैन् । सो सडकको दर्जन बढी ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेको ढोल्यामोड प्रहरीचौकीका प्रमुख गल्फ धमेनाले बताए । 

यस्तै दुदिलाखान –गाँजरी सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ । छेला–दुर्गाभवानी सडक, देहीमाण्डौं–दुर्गाभवानी सडक, अनारखोली –कैलपाल सडक,सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे लगायतका सडक अवरुद्ध बनेका छन् । 

असोज ३१ गते रातीदेखि ३ दिन सम्म परेको अविरल बर्षाले ग्रामीण सडक अवरुद्ध बनेका हुन् । कतिपय ठाउँमा सडककै कारण पहिरोको जोखिम समेत बढेको छ । ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा गाउँमा यातायात साधन समेत सञ्चालनमा आउन सकेका छैनन् । 

बर्षाले अवरुद्ध भएका केही सडक भने खुलाउने प्रयास भईरहेको छ । जिल्लाको सतबाँझ–सुर्नया सडक सञ्चालनमा आएको रौलेश्वर प्रहरीचौकीका प्रमुख भुवन चन्दले जानकारी दिए  । पहिरो खसेको ठाउँमा डोजरले पहिरो पन्छ्याएपछि सडक सञ्चालनमा ल्याइएको हो । 

यसैगरी जिल्लाको देहीमाण्डौं–गिरेगडा सडक पनि सञ्चालनमा आईसकेको छ । पहिरो खसेको ठाउँमा पहिरो पन्छ्याएपछि सडक सञ्चालनमा आएको दशरथचन्द नगरपालिका वडा नं ९का वडा अध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए ।