कैलाली उत्खनन र टापुका कारण बाढीको जोखिम

रासस    

कैलाली उत्खनन र टापुका कारण बाढीको जोखिम
फाइल तस्बिर

भजनी ।  यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो। कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो। वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलालीका नागरिकलाई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएपछि बाढी र डुबानको छुटकारा पाइएला भन्ने ठूलो आशा थियो। त्यो आशालाई गौरवको आयोजनाले पनि पूरा गर्न सकेन। टीकापुर नगरपालिका–२ का जीतराम चौधरीले बाढी र डुबानका मुख्य कारण स्थानीय सरकार भएको बताए। उनले स्थानीय तहले मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन गर्न लगाएका कारण बाढी र डुबानको समस्या मात्रै नभई राष्ट्रिय गौरवको आयोजनामा पनि करोडौँको क्षति पुगेको बताए।  

“स्थानीय तहले आफ्नो फाइदाका लागि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिन्छन्। त्यो राम्रो पनि हो तर, ठेक्का दिनेले मापदण्ड कार्यान्वयन गरेर काम ग¥र्यो कि गरेन भनेर निगरानी गर्नुपर्छ कि पर्दैन ”, उनले भने, “आज तिनै ठेकेदार र नदीको ढुङ्गा र बालुवामा कमिसन खानेहरुका कारण सर्वसाधारण भोकभोकै मर्ने बेला आएको छ।” सोही ठाउँका रणबहादुर विकले वर्षेनी बाढीका कारण शिविरका नागरिकले समस्या झेल्दै आएको बताउँदै त्यसको दीर्घकालीन समाधानका लागि कुनै पनि निकायबाट समन्वय नभएको बताए। “हामीलाई कर्णाली नदीभन्दा पनि जमरा कुलोका कारण शिविर डुबानमा पर्ने गरेका छन्। पटकपटक रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गर्दा पनि कुनै समस्याको समाधान हुन सकेको छैन्”, उहाँले भन्नुभयो, “राज्य आफ्नो फाइदाका लागि नदी उत्खननमै व्यस्त छ भने, त्यही राज्यको करोडौँको लगानी बाढीमै बग्ने गरेको छ। नागरिकले त्यसको परिणाम भोग्नुपरेको छ।”

नदीजन्य पदार्थको उत्खनन गर्दा तटबन्धभन्दा ५०० मिटर आसपाससम्म ध्यान दिनुपर्छ। तर त्यो पद्धतिको कार्यान्वयन नत ठेक्का लिनेले गरेका छन् न त, ठेक्का दिने निकायले नै। कर्णाली नदीको बर्दिया क्षेत्रमा कटान र डुबान कम हुने गरेको छ। त्यहाँको केही भाग राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले उक्त क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन। अर्को कैलालीको क्षेत्र जस्तो सहजरूपमा उत्खनन हुने ठाउँ पनि सो क्षेत्रमा छैन । त्यसकारण पनि कैलाली क्षेत्रको भाग बढी जोखिममा पर्ने गरेको छ। रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले अनियन्त्रित उत्खनन र नदीको बीच भागमा परेका टापुले बाढी, डुबान र कटानको समस्या बढी हुने गरेको बताए। 

कर्णाली नदीको चिसापानी पुलदेखि हुलाकी राजमार्गअन्तर्गतको सत्ती पुलसम्म सयौँ टापु बनेका छन्। केही टापु जङ्गलकारुपमा समेत परिणत भएका छन् भने त्यसका कारण नदीले सहज निकास नपाउँदा त्यसको असर बर्सात्मा पर्ने गरेको राष्ट्रिय गौरवको आयोजनाको बुझाइ छ। “जतातिर नदी तटबन्ध गरिएको छ, त्यहीँबाट उत्खनन हुन्छ । त्यसले तटबन्धको जग कमजोर बनाउँछ भने सामान्य बाढीमा पनि जोखिम हुन्छ”, आयोजना प्रमुख श्रेष्ठले भने, “अर्को नदीको बीच भागमा परेका बालुवाका टापुका कारणले पनि बाढी, डुबान र कटानको समस्या बढाएको छ। यसले नदीको पानी सहजरूपमा निकास पाउँदैन र जता कटान गर्न सजिलो भयो त्यतै नदी केन्द्रित हुँदा पनि जोखिम बढेको छ।” उनले अहिलेको बाढीले आयोजनामा धेरै ठूलो क्षति नभएको उल्लेख गर्दै करिब एकदेखि डेढ करोडको क्षति भएको बताए।

“आयोजनाको ठूलो क्षति भने पनि मूल नहरमै हो। त्यहाँ बढी क्षति भएको छ। अन्य विभिन्न ठाउँमा सात वटा च्यानल बाढीका कारण फोड्नुपरेको छ”, आयोजना प्रमुख श्रेष्ठले भने, “अहिले आयोजनाका कारण स्थानीयवासीको घरबारी डुबानमा प¥र्यो भन्नु पनि गलत हो। बरु काम सम्पन्न हुन नसकेका अवस्थामा आयोजनाले क्षतिलाई कम गर्न नसकेको हो।”



आइतबार ०७, कार्तिक २०७८ ०७:४५ मा प्रकाशित

#कर्णाली नदी #कैलाली

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस