अछाम । जिल्लाको चौरपाटी गाउँपालिकामा अवरुद्ध विद्युत सेवा आजबाट सुचारु भएको छ । कार्तिक १ गतेदेखि अवरुद्ध विद्युत सेवा ७ दिनपछि सुचारु भएको हो । भारी बर्षाका कारण विभिन्न ठाउँमा विद्युतका पोल ढल्दा १ गतेदेखि चौरपाटी गाउँपालिका सहित जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो ।
विद्युतका कर्मचारीको टोलीले गाउँपालिका भित्र ढलेका पोलहरु मर्मत गरेपछि आज साँझबाट विद्युत सेवा सुचारु भएको गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नम्बर १ सहित विभिन्न वडामा आजदेखि विद्युत सेवा सुचारु भएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए ।
उनका अनुसार भोली वडा नम्बर २ सोकटमा पनि विद्युतका लाइनहरु मर्मत गरिने जानकारी दिए । मंगलबार सम्म सोकटमा पनि विद्युत सेवा सुचारु भइसक्ने उनले बताए ।