अनेरास्ववियुद्धारा कैलालीका बाढी पीडितलाई राहत वितरण

अनेरास्ववियुद्धारा कैलालीका बाढी पीडितलाई राहत वितरण

कैलाली । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेको छ । गत आइतबारबाट परेको बेमौसमी झरीले प्रभावित भएका भजनीको लालभोजीका बाढी पीडितलाई आज राहत वितरण गरिएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कैलालीका इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले उपलब्ध गराएको राहत सामाग्री अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मोति विकको नेतृत्वमा रहेको टिमले हस्तान्तरण गरेको हो । 

लालभोजीका सबै भन्दा बाढी प्रभावित करिब १५० परिवारलाई राहत वितरण गरिएको इन्चार्ज विकले बताए । 

‘सुदूरपश्चिम प्रदेशमा बाढी र पहिलोले दिएको चोटमा मलम लगाउन हामी आएका हौँ’ उनले राहत वितरण गर्दै गर्दा भने, ‘हामी कैलाली र कञ्चनपुरका पीडितलाई आफै भेटेर राहत दिइरहेका छौँ ।’

राहत वितरण कार्यक्रममा विकसँगै एमाले जिल्ला सदस्य  हितेश ओझा, अनेरास्वियु स्थायी कमिटि सदस्य तथा प्रदेश सह इन्चार्ज भिस्म सुबेदी, स्थायी कमिटि सदस्य तथा प्रदेश सचिव मनोज राई, अनेरास्वियु कैलालीका अध्यक्ष किरोश शाह लगायत केहि केन्द्रीय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

राहत स्वरूप स्थानीयलाई चाउचाउ,चिउरा, भुजा, दालमोट बिस्कुट र पानी वितरण गरिएको थियो । यस अघि पनि स्थानीय युवा सहित भट्ट र रानाको सहयोगमा कैलालीको टिकापुरमा राहत वितरण गरिएको थियो ।

विपत्तिको समयमा उद्धार र राहतलाई प्राथमिकता दिएको जिल्ला सदस्य ओझाले बताए ।

‘एमालेको यहाँको नेतृत्वले पनि विपत्तिमा परेकाहरूको लागि राहत र उद्धारमा चासो दिनु भएको छ’ उनले भने, ‘हामी निरन्तर पीडितहरूलाई राहत वितरण गरिरहेका छौँ ।’

पहिलो चरणमा कैलालीको टीकापुरमा पनि करिब २ सय परिवारलाई राहत वितरण गरिएको प्रदेश सचिव राईले बताए । उनले युवाहरूले राहतलाई प्राथमिकता दिएपछि सरकारले भने चासो नलिएको आरोप लगाए । 

अनेरास्ववियु कैलालीका अध्यक्ष शाहले प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टरमा घुम्ने पैसाले यहाँका धेरै पीडितले राहत पाउन सक्ने बताए ।

तत्काललाई राहत पाएपछि स्थानीय हर्षित भएका थिए । आइतबारबाट लगातार दुई दिन परेको पानीबाट नदी तटीय क्षेत्रका नागरिक अझै पनि विस्थापित छन् । यहाँका हजारौँ किसानको धान बाली नष्ट भएको छ । बाढी प्रभावितहरूले तत्काललाई उपलब्ध भएको राहत ठुलो सहज हुने भन्दै दिगो रूपमा यसको व्यवस्थापन गर्न माग गरेका छन् ।