बझाङमा विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या

बझाङमा विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या

बझाङ। बझाङमा विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा उपचार समस्या भएको छ। लगातारको बेमौसमी वर्षाका कारण आएको बा ढीपहिरोले विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको हो।

एक हप्तादेखि जिल्ला अस्पताल बझाङमा विद्युत् आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भई उपचार सेवा प्रभावित भएको हो।वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्‌का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो। केन्द्रीय लाइन अवरुद्ध भए पनि २ सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट अहिले सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति सञ्चालन गरिएको छ । यद्यपि सदरमुकाम नजिकै सिमखेतमा रहेको अस्पतालमा भने विद्युत् पुगेको छैन।

विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्स-रे जस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ। दैनिक सयौंको संख्यामा बिरामीहरू अस्पताल आउने गरेको र विद्युत् नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डाक्टर योगेन्द्र खातीले बताए।

विद्युत् सेवा अवरुद्ध भएको एक हप्ताभन्दा बढी भयो । अस्पतालमा भएको जेनेरेटर चलाएर सेवा दिई रहेका थियौं । अब त डिजेल पनि सकियो’ उनले भने, ‘बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल अभाव छ । बाहिरबाट ल्याउन सकिने अवस्था पनि छैन । विद्युत् नहुँदा शुक्रबारदेखि अधिकांश सेवा बन्द भएको छ । उनले सुत्केरी हुन नसकेका र बाढीपहिरोमा परेर घाइते भएकाहरू उपचारका लागि जिल्ला अस्पताल आउने गरेका र यस्ता अधिकांश विरामीहरूको शल्यक्रिया गर्नु पर्ने भएपनि विद्युत् नहुँदा समस्या भएको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा चैनपुरले विद्युत्को खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत् आपूर्ति गरिरहेको छ । अस्पताल लाईनमा पोल ढलेको र केही स्थानमा मर्मत गनुपर्ने भएकाले विद्युत् प्रसारण नियमित गर्न अझै समय लाग्ने वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताए । बैतडीको खोडपेदेखि चैनपुरसम्म एकसय भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेलधुरासम्म सडक खुलिसकेकाले अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।