धनगढीमा प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला

धनगढीमा प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला

धनगढी । धनगढीमा दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको जनाइएको छ । जन्मकैदको फैसला सुनाइएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना छन् ।

यस्तै २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुरबहादुर परियारले जानकरी दिए।यस्तै राजिव गुप्ताले भने सफाई पाएका छन्।

उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए।

कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो । नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राति १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल(भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि दुई सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।