सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा कर्मचारी नहुँदा कामकाज प्रभावित

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा कर्मचारी नहुँदा कामकाज प्रभावित

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालय सचिव र लेखा अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । प्रदेशमा हालै आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएका बेला मन्त्रालय सचिव र लेखा अधिकृत नहुँदा विपद् व्यवस्थापनको कार्य प्रभावित भएको हो ।  आन्तरिक मामिला मन्त्रालयका सचिव चुडामणि पौडेल दशैँअघि सरुवा भएर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गइसकेकाले प्रशासनिक काम कारवाही प्रभावित भएको सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए ।

निमित्त सचिवका रुपमा कार्यरत उपसचिव गणेश नायक पनि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय सरुवा भएर गएकाले कामकाज थप प्रभावित भएको जोशीले जनाए । उनका अनुसार लेखा अधिकृत नारायणप्रसाद मिश्रले पनि अनिवार्य अवकाश पाएका छन् । मन्त्रालय सचिव र लेखा अधिकृत नुहँदा आर्थिक कामकारवाही प्रभावित बनेकाले बाढी तथा पहिरो प्रभावित जिल्लाका लागि विनियोजन गरिएको बजेट सम्बन्धित जिल्लालाई निकासा दिन नसकिएको जोशी बताउँछन् ।

‘मन्त्रीपरिषद्को बैठकले प्रदेशका बाढी तथा पहिरो प्रभावित जिल्लामा राहत, उद्धार तथा विपद् व्यवस्थापनका लागि २५ करोड प्राकृति विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ,’ जोशीले भने, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आर्थिक प्रणाली अनुसार उक्त बजेट कोषमा जम्मा भएको छ । तर मन्त्रालयमा सचिव र लेखा अधिकृत नहुँदा सम्बन्धित निकायलाई निकासा दिन सकिएको छैन ।’

जोशीका अनुसार प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका जिल्लामा तत्काल २५-२५ लाख रुपैयाँका दरले बजेट दिने निर्णय गरेको छ । तर सचिव र लेखा अधिकृत नभएका कारण अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई उपलब्ध स्रोत साधनले व्यवस्थापन गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले पनि प्रदेश प्राकृतिक प्रकोपले प्रभावित भएका बेला सचिव र लेखा अधिकृत नहुँदा कामकाज गर्न निकै समस्या भएको सुनाइन्। ‘मन्त्रालयमा सचिव नभएकाले हामीले बाढी प्रभावित जिल्लाका लागि विनीयोजन गरेको बजेट पनि पठाउन पाएका छैनौँ,’ जोशीले भनिन्,‘निर्णय भइसकेकाले तत्काललाई जसरी भएपनि व्यवस्थापन गर्न आग्रह गरेका छौँ ।’ जोशीले आफूले सचिव पठाइदिन संघीय सरकारसँग आग्रह गरिरहेको बताउँदै तत्काललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव विश्वदीप वेस्रालाई जिम्मेवारी दिइएको बताइन् ।

वेस्रालाई पनि दोहोरो जिम्मेवारी तोकिएकाले आफूले आन्तरिक मामिला तथा कानून मन्त्रालयकै पूर्ण जिम्मेवारी दिएर पठाउन आग्रह गरेको उनी बताउँछिन् । वेस्राले मंगलबारदेखि निमित्त सचिवको जिम्मेवारी सम्हालेपनि लेखा अधिकृत नहुँदा आर्थिक काम कारवाही अघि बढाउन नसकिएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा गत ३१ गतेदेखि परेको अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ। हालसम्म बाढीपहिरोमा परेर ३७ जनाको मृत्यु भइसकेको छ भने १७ जना बेपत्ता छन्।

कैलाली र कञ्चनपुरमा धानखेतीमा ठूलो क्षति गरेपनि यकिन विवरण प्राप्त भइनसकेकाले संकलनको काम भइरहेको प्रदेश सरकारले जनाएको छ ।