वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको छः नेता सिंह

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको छः नेता सिंह

धनगढीः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

बहुमत प्राप्त सरकारले जनताको सेवामा समर्पित नभएर सर्वसत्तावादी शैलीलाई बढुवा दिइरहेको उनले बताए। कार्याक्रता प्रशिक्षणको क्रममा प्रदेश नम्बर ७ मा पुगेका सिंहले शुक्रवार बिहान धनगढीमा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन्।

‘हामीले भनेका थियौ, बहुमत प्राप्त यो सरकार सर्वसत्तावादी मात्र हुने छ। अहिले हेर्नुहोस्, त्यो कुराको पुष्टि भइरहेको छ’, नेता सिहँले भने। 

वर्तमान सरकारबाट जनताले विकासको अनुभूति समेत गर्न नसकेको दाबी उनले गरे। सरकारका क्रियाकलापले जनतामा निराशा मात्र छाएको छ। अब नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलाप विरुद्ध सडक र सदनबाट सशक्त रूपमा जनताको आवाज उठाउने उनले बताए। 

नेता सिंहले डा. गोविन्द केसीको आन्दोलनको समर्थन गर्दै शिक्षा र स्वास्थ्यको गुणस्तरमा आफूहरूले कहिल्यै सम्झौता नगर्ने बताए। डा. केसीको अनशनमा प्रहरी हस्तक्षेप भएको उल्लेख गर्दै उनले सरकारको आलोचना समेत गरे।