एक अर्ब ७५ करोडमा प्रदेश गौरवका नौ वटा सडक बन्दै

एक अर्ब ७५ करोडमा प्रदेश गौरवका नौ वटा सडक बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक अर्ब ७५ करोड ६६ लाख रुपैयाँ लगानीमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौ वटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो ।

प्रादेशिक गौरवका आयोजना अन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार भजनी छोटी भन्सार–खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलोमिटर कालोपत्रेका लागि ठेक्का भएर काम भइरहेको छ ।

सो सडकको लागत सात करोड ७५ लाख रुपैयाँ रहेको छ । २०७७ साउन १८ मा ठेक्का भएको सडकको २०७९ माघ १७ गतेसम्म निर्माण अवधि रहेको छ । यो सडक निर्माणमा हालसम्म तीन करोड नौ लाख रुपैयाँ खर्च भएको छ । 

बेलौरी–कलुवापुर–बुडर नाइल सडकको कञ्चनपुरस्थित बन्साह–दोमिल्ला नर्सरी खण्डमा ९.१ किलोमिटर कालोपत्रेका लागि ठेक्का भएर निर्माणको कार्य भइरहेको छ । ११ करोड ६५ लाख रुपैयाँ लागत रहेको सो सडकको निर्माण अवधि २०८० असार मसान्तसम्म रहेको छ । २०७७ साउन २० मा यो सडकको ठेक्का भएको थियो । यो सडक निर्माणमा हालसम्म दुई करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ ।

यस्तै, सहजपुर–बोगटान–दिपायल सडकको डोटीस्थित छिडिखान–अकरकाडा र रानागाउँ–वायल खण्डमा निर्माणका लागि ठेक्का भएको छ । २७ किलोमिटरमा कालोपत्रे, सब–बेस र स्ट्रक्चर निर्माण हुने सो खण्डको २०७७ असार  ३० मा ठेक्का भएको थियो । २०८० असार मसान्तसम्म निर्माण अवधि रहेको छ । कुल २१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सो सडकमा हालसम्म १० करोड ४७ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ ।

यसैगरी, पातीहाल्न–तल्कोट–सैपाल–हुम्ला सडकको बझाङस्थित जडार–पानकोट खण्डमा १४ किलोमिटरमा कालोपत्रेका लागि ठेक्का भइ काम अगाडि बढेको छ । सो खण्डमा कालापत्रेका लागि नौ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको र हालसम्म दुई करोड ४८ लाखभन्दा बढी रुपैयाँ खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । २०७७ असार २६ मा ठेक्का सम्झौता भएको थियो । सो सडकको निर्माण अवधि २०७९ वैशाख मसान्तसम्म रहेको छ । 

यस्तै, देथला–खार–खलंगा–बिटुले–पारिबगर–खण्डेश्वरी सडकको दार्चुलास्थित देथला–खार र देथला–सेला बगर खण्डमा २० किलोमिटर कालोपत्रेका लागि काम अगाडि बढेको छ । कुल ३३ करोड ८८ लाखमा ठेक्का सम्झौता भएको यो सडकमा हालसम्म १३ करोड ६२ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । २०७७ जेठ ६ मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०८० जेठ ५ गतेसम्म रहेको छ । 

दैजी जोगबुढा सलौन चिरकिट्टे पोखरा ढुंगाड–बझाङ सडकको डडेल्धुरास्थित जोगबुढा–लिप्रा, पोखरा–बेलार, गाईवादे–लिप्रा र सलौन–चिरकिट्टे खण्डमा कालोपत्रे, स्ट्रक्चर र सव बेस निर्माणको कार्य भइरहेको छ । ३५ किलोमिटर सडक निर्माणका लागि ५१ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ । २०७६ असार ३० मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०८० असार २९ सम्म रहेको छ । प्रदेश गौरवको यो सडक निर्माणमा हालसम्म २० करोड तीन लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । 

यसैगरी, चिसापानी–ऋषिदह–बडिमालिका सडकको अछामस्थित जङ्गलघाट–बस्थाना खण्डमा २५ किलोमिटरमा सव बेस र स्ट्रक्चर निर्माणको कार्य भइरहेको छ । नौ करोड ४८ लाख रुपैयाँमा ठेक्का भएको सो सडक निर्माणमा हालसम्म तीन करोड चार लाख ५६ हजार रुपैयाँ खर्च भइसकेको छ । २०७७ जेठ ९ गते यो सडकको ठेक्का भएको थियो । यसको निर्माण अवधि सकिएको छ । २०७८ जेठ १६ गतेसम्म यो सडक निर्माणको समायवधि रहेको थियो । अवधि सकिए पनि निर्माण कार्य भने सकिएको छैन। 

सतबाझ श्रीभावर–हाट–दार्चुला सडकको बैतडीस्थित सतबाझ–श्रीभाव र श्रीभावर हाट खण्डको ठेक्का भइ काम भइरहेको छ । सो सडकको १६.५० किलोमिटरमा कालोपत्रे हुने जनाइएको छ । २४ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो सडक निर्माणमा हालसम्म १२ करोड ५२ लाख ७१ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । २०७७ असार २२ मा ठेक्का भएको थियो । २०८० असार २० सम्म निर्माण अवधि रहेको छ । 

यस्तै, प्रदेश गौरवको खप्तड–मार्तडी सडकको बाजुरास्थित भौनेरा–आटिचौर खण्डमा स्ट्रक्चर र सव बेस निर्माणको काम भइरहेको छ । १५ किलोमिटर लामो सो खण्डमा काम गर्नका लागि छ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँच करोड ७६ लाख ४४ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ । २०७७ असार १९ मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०७८ जेठ १६ सम्म रहेको थियो । अवधि सकिए पनि निर्माणको काम भने सकिएको छैन । सबै सडक निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयका योजना महाशाखाका अधिकृत प्रेमदत्त भट्टले जानकारी दिए ।