अदालतको समस्या समाधान गर्ने काम अदालतकै हो, गठबन्धनको बैठकमा सल्लाह गर्छौं : प्रधानमन्त्री देउवा

अदालतको समस्या समाधान गर्ने काम अदालतकै हो, गठबन्धनको बैठकमा सल्लाह गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको अहिलेको समस्या समाधान अदालतले नै गर्नुपर्ने बताएका छन् । अहिले न्यायालयमा उठेका विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरिने उनको भनाई छ । नेपाल तरुण दलले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने र किन प्रधानन्यायाधीशले मात्रै राजीनामा दिने ? भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले भने,‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्छ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन, न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन ।’

उनले गजेन्द्र हमाल आफ्नै पार्टीको मान्छे भएको जिकिर गरे । उनले भने,‘मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’