कञ्चनपुरमा गैँडाको आक्रमणमा परी च्याउ टिप्न गएका एक जना घाइते

कञ्चनपुरमा गैँडाको आक्रमणमा परी च्याउ टिप्न गएका एक जना घाइते

कञ्चनपुर। कञ्चनपुरमा गैँडाको आक्रमणमा परी एक जना घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका जिल्लाको बेलौरी नगरपालिका वडा नं ४ का स्थानीय ५३ वर्षीय बलिराम राना  गैँडाको आक्रमणबाट घाइते भएका हुन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएर करिब २ महिनायता गोरखनाथ सामुदायिक वन क्षेत्रमा रहेको गैँडाले बुधबार बिहान  रानालाई आक्रमण गरी घाइते बनाएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिए । 

गैँडाको आक्रमणबाट रानाको  पिठ्युँमा गहिरो चोट लागेपछि रानाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

गोरखनाथ सामुदायिक वन, अमर स्मृति सामुदायिक वन र पारिजात सामुदायिक वनका उपभोक्ता तथा आसपासको क्षेत्रमा आवतजावत गर्ने आम नागरिकहरूलाई सतर्क रहन समेत डिभिजन वन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । कञ्चनपुरमा जङ्गली हात्ती तथा चितुवाले समेत मानव बस्तीमा जनधनको क्षति गर्दै आएको छ ।