बागमतीमा नयाँ मुख्यमन्त्रीको दाबी गर्न बिहीबार ३ बजेसम्मको समय

बागमतीमा नयाँ मुख्यमन्त्रीको दाबी गर्न बिहीबार ३ बजेसम्मको समय

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि बिहीबार ३ बजेसम्मको समय दिइएको छ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँग नयाँ मुख्यमन्त्रो लागि आह्वान गरिएको हो।

'प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मिति २०७८/०७/१० गते बिहीबारका दिन अपराह्न ३ बजेभित्र बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ', प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा भनिएको छ।

बागमती प्रदेशमा माओवादी केन्द्र, कांग्रेस तथा एकीकृत समाजवादीको गठबन्धन छ। गठबन्धनले एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

बुधबारको प्रदेश सभामा मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी थिइन्। एमाले विभाजनपछि उनी अल्पमतमा रहँदै आएकी थिइन्। विश्वासको मत लिनुपर्ने बाध्यता अनुसार उनले प्रस्ताव दर्ता गरेकी थिइन्। त्यसमाथि छलफल पनि भएको थियो। तर मत विभाजन हुनुअघि उनले राजीनामा घोषणा गरेकी हुन्।