धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन छलफल शुरु

धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन छलफल शुरु

धनगढी। धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन छलफल शुरु भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको नेतृत्वमा आज काठमाण्डौंबाट आएको उच्चस्तरीय टोली र सुदूरपश्चिमका मुख्यमन्त्री र सरोकारवालाहरुबीच आज धनगढी बिमानस्थलमा छलफल भयो ।

मन्त्री आलेले धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि बजेट बिनियोजन गरी जग्गा अधिग्रहण र निर्माण प्रकृया अघि बढाउने बताए ।

मन्त्री आलेले जग्गा अधिग्रहणका लागि साढे चार अर्व आवश्यक पर्ने बताउदै सो लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरे । सुदूरपश्चिमको विकास र समृद्धिका लागि धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक भएको बताउदै मन्त्री आलेले आफूले सपना देखाउने भन्दा काम गरेर परिणाम देखाउने बताए ।

प्रदेश सरकारसंगको सहकार्यमा क्षेत्रीय स्तरको बिमानस्थल निर्माण गरिने बताउदै मन्त्री आलेले त्यसका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले क्षेत्रीय स्तरको बिमानस्थलका लागि  जग्गा अधिग्रहण र पूर्बाधार निर्माणका लागि १५ अर्व रुपैया लाग्ने बताए । उनले क्षेत्रीय स्तरको बिमानस्थलका लागि २५०० मिटरको धावन मार्ग निर्माण गरिने र हालको धावन मार्गलाई जहाजहरु पार्किङ स्थलका रुपमा प्रयोग गरिने बताए ।