मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल

मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल

काठमाडौं। मानव शरीरमा  सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न अमेरिकी चिकित्सक सफल भएका छन्। उक्त सफलतासँगै अ‌ंगदानमा देखिएको अभाव पूर्ति हुने चिकित्सकहरुले विश्वास लिएका छन् ।

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति ब्रेन डेडु अर्थात् मस्तिष्कले काम नगर्ने बिरामी समेत थिए । यसको अर्थ उनी पहिलादेखि नै जीवन रक्षक उपकरणको सहारा लिएका व्यक्ति थिए ।

बिरामीको शरीरले नयाँ मिर्गौलालाई अन्य प्राणीको अंग ठानी अस्वीकार नगरोस् भनेर ती व्यक्तिमा आनुवांशिक रुपले परिवर्तन गरिएको (जेनेटिकल्सी मोडिफाइड) सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।

हालसम्म उक्त प्रत्यारोपणबारे कुनै समीक्षा गरिएको छैन भने यससम्बन्धी निष्कर्ष पनि प्रकाशित भएको छैन । तर यो प्रत्यारोपण हालसम्मकै विकसित प्रयोग भएको जानकारहरुको भनाइ छ ।

यसअघि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिँदै आएको भएपनि मानव शरीरमा भने प्रत्यारोपण गरिएको थिएन । अंग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो अवधारणा भने होइन। पहिलादेखि नै सुँगुरको मुटुको भल्ब मानवमा प्रयोग हुँदै आएको छ । आकारको कुरा गर्ने हो भने सुँगुरको अंग मानव शरीरमा राम्रोसँग मेल खान्छ ।

न्यूयोर्क युनिभर्सिटी लैन्गोन हेल्थ मेडिकल सेन्टरका सर्जनले बिरामी व्यक्तिको रक्तनलीमा सुँगुरको मिर्गौला जोडेर काम गर्ने वा शरीरले अस्वीकार गर्ने भनेर हेरेका थिए। साढे दुई दिनसम्म उनीहरुले मिर्गौलालाई नजिकबाट अवलोकन गर्दै कैयौं प्रकारका परीक्षण गरे ।

मुख्‍य चिकित्सक डाक्टर रोबर्ट मोन्टगोमरीले बीबीसी वर्ल्ड टुनाइट कार्यक्रममा भने, ‘यस (सुँगुरको मिर्गौला)ले मानव मिर्गौलाको झैं काम गरेको देख्यौं । यसले समग्रमा राम्रो काम गरेको थियो र शरीरले अस्वीकार गरेको पाइएन।’

डाक्टर मोन्टगोमरी स्वयं आफ्नो शरीरमा अंग प्रत्यारोपण गरेका छन् । प्रत्यारोपणको पर्खाइमा रहेका मानिसका लागि बढीभन्दा बढी अंग चाहिने उनको भनाइ छ । उनले आफ्नो काम विवादित भएको पनि स्वीकार गरे ।

‘मैले चिन्तालाई बुझ्न सक्छु । म यो पनि भन्न चाहन्छु कि प्रत्यारोपणको पर्खाइमा रहेका करीब ४० प्रतिशत बिरामी अंग पाउनुपूर्व नै यो संसार छोड्छ्न्’, मोन्टगोमरीले भने, ‘हामीले आहारको रुपमा सुँगुरको प्रयोग गर्छौं, औषधिमा सुँगुरको प्रयोग हुन्छ र भल्बको लागि पनि प्रयोग गर्छौं । मिर्गौला प्रत्यारोपण यी कुराभन्दा फरक छ जस्तो लाग्दैन ।’

पछिल्लो प्रयोग शुरुवाती शोध भएको र यसका लागि थप अध्ययन आवश्यक पर्ने मोन्टगोमरीले बताए । साथै यसलाई क्लिनिकमा अपनाउँदा उचित हुने पनि उनको भनाइ थियो ।

त्यस्तै, बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत मिर्गौला तथा आईसीयू डाक्टर मरियम खोसरावीले भनिन्, ‘हामीले दशकौंदेखि जनावरबाट मानवमा अंग प्रत्यारोपण गर्नेबारे अध्ययन गरिरहेका छौं। यो समूहले यसलाई अघि बढाएको कुरा निकै रोचक छ ।’