विद्युत्को नयाँ महसुल सार्वजनिक

विद्युत्को नयाँ महसुल सार्वजनिक

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युत्को नयाँ महसुल दर सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २।८४ प्रतिशत सस्तो बनाइएको छ ।सिँचाइमा मात्र हेर्दा औसत ४०.६९ प्रतिशतले महसुल घटाइएको छ ।

मङ्सिर १ देखिको खपतमा लागू हुनेगरी तय गरिएको नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपियाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ ।

इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ।

२० युनिटसम्मको छुट १५ एम्पियर र माथिको क्षमता जडितलाई उपलब्ध नहुने आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।“सरकारले आधारभूत तहका जनतालाई बिजुलीमा सहुलियत दिने नीतिअनरूप ती उपभोक्ता लक्षित गरेर यस्तो छुटको व्यवस्था गरिएको हो,” उनले भने, “नयाँ महसुलदरले घरायसी प्रयोजनमा एलपी ग्यास प्रतिस्थापन गरेर विद्युतीय चुलोको प्रयोग बढाउने, सिँचाइमा सहुलियत पूर्ण बिजुली खपत गराएर कृषि उत्पादकत्व बढाउने नीतिगत आधारमा महसुल निर्धारण गरेका छौँ।”

नयाँ महसुल दरमा सिङ्गल फेजका सबै गार्हस्थ्य उपभोक्तालाई लक्षित गर्दै पाँच, १५, ३० र ६० एम्पियर जडित ग्राहकको न्यूनतम महसुल साबिकभन्दा २५ रुपियाँ घटाइएको छ । गार्हस्थ्य उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरून् भन्ने हेतुले १५१ देखि २५० युनिटसम्मको विद्युत्मा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपियाँ ५० पैसा बनाइएको छ ।

त्यस्तै ४०० युनिटभन्दा माथिको खपतमा प्रतियुनिट ११ कायम गरिएको छ ।आयोगले स्वीकृत गरेको संरचनाले थ्री फेजका ग्राहकले असारदेखि कात्तिकसम्म मौसमी दरअनुरूप सस्तोमा बिजुली पाउने व्यवस्था गराइएको छ । थ्री फेज तल्लो भोल्टेज ग्राहकले वर्षामा प्रतियुनिट १० रुपियाँ ५० पैसा र सुक्खायाममा ११ रुपियाँ ५० पैसा पर्ने व्यवस्था गराइएको छ।

सिँचाइमा ४०.६९ प्रतिशत घटाइयो
ठूलो जनसङ्ख्या कृषिमा आश्रित रहेको तर कृषि उत्पादकत्व कम रहेको अवस्थालाई ध्यानमा राखेर अहिलेको महसुल परिवर्तनमा सिँचाइ क्षेत्रमा औसत ४०.६९ प्रतिशत महसुल घटाइएको छ । टीओडी मिटर जडान गरेका ३३ केभी लाइनका सिँचाइ उपभोक्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्मको खपतमा प्रतियुनिट दुई रुपियाँ मात्र तिरे पुग्ने भएको छ ।

अन्य समयमा पनि एक रुपियाँ ७० पैसा घटाएर प्रतियुनिट तीन रुपियाँ मात्र कायम गरिएको छ । ११ केभीएमा यो शुल्क भने तीन रुपियाँ १० पैसा छ।टीओडी मिटर नराखेका सिँचाइ उपभोक्ताको हकमा भने प्रतियुनिट २५ देखि ५० पैसा बढी पर्नेछ । “आमजनताको जीविकासँग सरोकार राख्ने कृषि क्षेत्रको उत्थान गर्ने डिप ट्युबवेल बोरिङ, लिफ्ट सिँचाइजस्ता उपाय अवलम्बन गर्न यो महसुलले ठूलो प्रेरणा दिने देखिन्छ,” आयोगका प्रवक्ता रामप्रसाद धितालले भने, “कृषि उत्पादकत्व बढाएर अर्थतन्त्रमै प्रत्यक्ष योगदान यसबाट सिर्जना हुन सक्छ । ”

उद्योगी खुसी
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकका लागि प्रस्ताव गरेको नयाँ महसुललाई आयोगले अस्वीकृत गरेको छ । प्राधिकरणले यस्ता ग्राहकको प्रत्येक स्लटको डिमान्ड शुल्क १०० रुपियाँ बढाउने प्रस्ताव गरेको थियो । प्राधिकरणको प्रस्तावबारे विद्युत् नियमन आयोगले गरेको सार्वजनिक सुनुवाइका क्रममा पनि उद्यमी–व्यवसायीले यसको चर्को विरोध गरेका थिए ।धितालका अनुसार उद्योगीलाई औद्योगिक प्रवद्र्धनमा विद्युत् महसुलले समस्या नपरोस् भन्ने निष्कर्षमा आयोगले सो प्रस्ताव अस्वीकृत गरेको हो ।