महिला क्रिकेट टोली घोषणा

महिला क्रिकेट टोली घोषणा

काठमाडौँ  । आसन्न आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितालाई बुधबार नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ ।

यूएईमा मंसिर ४ देखि १० सम्म हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगत टमाटाले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरे । चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ ।

दसैं सकिएलगत्तै त्रिवि मैदानमा २४ खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका थिए । त्यसमध्येबाट १४ खेलाडी टिममा राखिएको हो । नेपाली टोलीले केही समय विदेशमा बन्द प्रशिक्षण गर्ने योजना बनाइरहेको छ ।

प्रशिक्षक टमाटाले विदेश प्रशिक्षण अहिलेसम्म निश्चित भइनसकेको बताए । नेपाल क्रिकेट संघ (क्यान) ले कतार र बंगलदेशमा प्रशिक्षण क्याम्प सञ्चालन गर्ने तयारी गरेको थियो । प्रतियोगितामा नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चीनले प्रतियोगितामा सहभागिता नजनाएका कारण यो प्रतियोगितामा नेपाल उपाधिको दाबेदार देखिएको छ । अघिल्लो विश्वकप छनोटमा नेपाल निर्णायक खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

नेपाली टोली : रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।

वैकल्पिक खेलाडीमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी छन् । टोली प्रशिक्षकमा जगत टमाटा र म्यानेजरमा जयन्ती भट्ट छन् ।