पन्ज्युनयाँ क्रिकेटः कैलपाल फाइनलमा,सर्मोली ४ विकेटले स्तब्ध

पन्ज्युनयाँ क्रिकेटः कैलपाल फाइनलमा,सर्मोली ४ विकेटले स्तब्ध

बैतडी । कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा कैलपालले जागृती युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पारेको हो । सर्मोलीले दिएको ९६ रनको सामान्य लक्ष्य कैलपालले १४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो ।

जसमा प्रदीप चन्द र राजु भाटले १८÷१८ र महेश चन्दले १३ रनको योगदान गरे । सर्मोलीका तिलक कार्कीले २ विकेट लिए । त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सर्मोलीले १७ दशमलव ४ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनाउन सक्यो । उसका लागि लोकेन्द्र कार्कीले ३४ र तिलक कार्कीले २६ रन जोडे । कैलपालका लागि ३ विकेट हात पारेका महेश चन्द म्यान अफ द म्याच भएका आयोजक सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिए ।

पराजित भएसँगै सर्मोली सेमिफाइनलबाटै घर फर्किएको छ । फाइनलको यात्रा तय गरेको कैलपालले उपाधिका लागि भोलि आयोजक शुचितम युवा क्लबसँग खेल्नेछ । उपाधि भिडन्त बिहान १० बजेपछि हुने जनाइएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी रहेका थिए ।

प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैंया पुरस्कार पाउने सुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, वेस्ट बलर र वेस्ट ब्याट्सम्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैंया पाउनेछन् ।

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो ।