बझाङ, बैतडी र डडेल्धुरालाई सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

बझाङ, बैतडी र डडेल्धुरालाई सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

बझाङ । नेपाल सरकारका गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको बझाङ लगायत सुदूरपश्चिमका डडेलधुरा र बैतडी जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनु भएको छ ।

बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिका आउनु भएका मन्त्री खाँणले बाढी पहिरोका कारण बझाङ लगायत अधिकांश जिल्लाहरूमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लाहरू तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरी पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको हो  । 

हेलिकप्टर मार्फत बझाङ आउनु भएका मन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढी पहिरोबाट प्रभावित स्थानीय नागरिकहरू सँगको भेटमा बझाङ जिल्लामा आफु आई पुग्दा निकै स्तब्ध भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री विदेशबाट फर्की सकेपछि मन्त्री परिषद्को निर्णयबाट बझाङ जिल्ला लगायत बैतडी र डडेलधुरा जिल्लालाई बिपदग्रस्त क्षेत्र घोषण गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रभावित परिवारलाई तत्काल राहत लिन प्रक्रिया पुर्‍याएर प्रमुख जिल्ला अधिकारी मार्फत राहत लिन समेत आग्रह गर्नुभयो । उहाँले बाढी पहिरो पीडित नागरिकहरूलाई तत्काल सरकारले राहतका कार्यक्रम ल्याउन कुनै पनि कसर बाँकी नराख्ने बताउँदै सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रह समेत गर्नुभयो । 

उहाँले मृतक परिवारका साथै घर समेत पहिरो तथा बाढीबाट नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रति परिवार ५० हजार रुपियाँ दिने निर्णय समेत गरी सकेकाले सो रकम लिनका लागि स्थानीयलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिको बारेमा जानकारी गराउनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा जानकारी समेत गराउनु भएको थियो । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढी पहिरोका निरीक्षण गर्नुभएको हो । 

असोज ३१ गते देखि कात्तिक ३ गते सम्म भएको बाढी पहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । बाढी पहिरोबाट हजारौँ हेक्टर जमिन बगरमा परिणत हुनका साथै झण्डै एक सय भन्दा बढी परिबार विस्थापित भएका छन् ।