बझाङः बझाङको बित्थड चिर गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाइने भएको छ। मदिराले समाजमा निम्त्याएका विकृतिलाई न्युनिकरण गर्न गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले मदिरा निषेधित क्षेत्रमा मदिरा बिक्री वितरण गर्ने र मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय समेत गरेको छ। गाउँपालिकाले मदिरा बिक्री वितरण गर्नेलाई २५ हजार र मदिरा सेवन गर्नेलाई १० हजार जरिवाना तिराउने छ।
मदिरा सेवनको कारण समाजमा विकृति फैलिएकोले गाउँपालिकामा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको बित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले बताए। मदिरा विकास र समृद्धिको बाधक रहेकोले पनि रोक लगाउनु परेको उनले बताए।
गाउँपालिकाको यो निर्णयलाई स्थानीयले समेत स्वागत गरेका छन्। समाजमा अधिकांश घटनाहरू मदिरा सेवनको कारण घट्ने भएकोले गाउँपालिकाको निर्णय स्वागत योग्य रहेको स्थानीय धर्मजंग बहादुर सिंहले बताए। बझाङ जिल्लालाई शान्त र समृद्ध बनाउन सबै स्थानीय तहले मदिरा निषेध गर्नु पर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खाद्यान्न भन्दा मदिरा बढी आयात हुने गरेको छ। मदिरा सेवनले यहाँ हत्या, हिंसा, चोरी डकैती, महिला हिंसा, बलात्कार जस्ता आपराधिक क्रृयाकलापहरु हुने गरेको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांकले देखाएको छ।