अछामकी कला १९ बर्षदेखि सुतेकी सुतै, महिनावारी हुँदा झनै समस्या

अपाङ्ताका पक्षमा काम गर्ने संघ-संस्था वेखबर

पुर्ण साउँद    

अछामकी कला १९ बर्षदेखि सुतेकी सुतै, महिनावारी हुँदा झनै समस्या

अछामको चौरपाटी गाउँपालिकाकी कला विक उमेरले १९ वर्षकी भइनँ । तर उनी अहिले सम्म सुतेको सुतै छिन् । २०५९ साल भदौ ९ गते आमा धौली देवी कामी र बुवा नारे कामीको कोख बाट पाँचौँ सन्तानका रूपमा गाउँपालिकाको वडा नम्बर १ स्थित खान्डाडाँ टोलमा कलाको जन्म भयो । जन्म हुँदा सामान्य अवस्थामा उनी जन्मिएकी थिइनँ । त्यो बेला उनी बच्चै हुँदा उनको शारीरिक लगायत अन्य कुरामा ध्यान दिइएन् ।

तर उमेर बिस्तारै बढ्दै जाँदा उनी बोल्न पनि नसक्ने भइन् । गरिब परिवारमा जन्मिएकी कलाको परिवारले उनको उपचारमा कुनै पनि ध्यान दिएन । जन्म हुँदा अन्य बच्चाहरुको जस्तै उनी पनि शारीरिक रूपमा स्वस्थ थिइन् । तर पछि उमेर बढ्दै गयो आमा बुवाले पनि उनीप्रति धेरै चासो दिएनन् । आमा धौली देवी अहिले सम्म छोरीको स्याहार सुसारमा नै दैनिकी बिताइरहेकी छिन् । करिब ५५ बर्षिया आमा छोरीको अवस्था देखेर आफै कमजोर बन्दै गएकी छन् ।

“आफु बाचे सम्म त छोरीको हेर बिचार र स्याहार सुसार आफै गर्छु’,उनले दुखेसो पोख्दै भनिन्,‘तर आफु मरे भने कसले मेरो छोरीको रेखदेख र स्याहार सुसार गर्छ ।”

जन्मेदेखि उठ्न नसकेकी कलाका अहिले हात र खुट्टा समेत राम्रो सँग नचल्ने अवस्थामा छन् । उनी पूर्ण अपाङ्गता छिन् । कहीँ कतै हिड्डुल गर्न समेत नसक्ने उनी बोल्न समेत सक्दैनन् । खुट्टाहरु सिधा नहुँदा उनको शरीरमा लुगा कपडा लगाउन समेत मुस्किल हुने गरेको छ । घरमा दाइ भाउजू भएपनि उनको रेखदेखमा त्यति धेरै चासो दिँदैनन् । उनी अहिले आमाको सहारा र रेखदेखमा छिन् ।

उमेरले १९ वर्ष पुगेकी उनी बस्न पनि नस्कने र उठ्न समेत सक्दैनन् । हरेक आमा बुवाको इच्छा हुन्छ आफ्ना छोराछोरी राम्रो भएको तर आमा धौली लाई बुढेस कालमा पछि आफ्नी १९ वर्षीय छोरीको स्याहार सुसार गर्नु परेको छ । उनी दुःख पोख्दै भन्छिन्, यो छोरी मेरो लागि गलपासो भई, आफ्नो स्याहार सुसार गर्नु पर्ने समयमा छोरी कै स्याहार सुसार गर्नु परेको छ । मैले हेरविचार नगरे कोही पनि गर्दैनन् ।

छोरा बुहारी पनि छोरीको रेखदेखमा ध्यान दिँदैनन् । ‘आफु बाचे सम्म त छोरीको हेरविचार म आफै गरौला, तर म रहिन भने कसले मेरो छोरीको स्याहार सुसार गर्ला ?’ यो प्रश्नले आमालाई पिरोली रहेको छ । उनी उठ्न समेत नसक्ने हुँदा सुतेकै अवस्थामा दिशा पिसा गराउनु पर्ने बाध्यता छ । त्यो हुँदा घिन मानेर कोही पनि कलाको नजिक आउन मान्दैनन् ।

सुरु सुरुमा घिन मानेपनि आमा धौली देवीलाई भने छोरीको दिशा पिसा सोर्न अब बानी परिसकेको छ । अरू भने उनको नजिकै आउन समेत हिचकिचाउने गरेका छन् । उसो त घरका सदस्यले पनि उनको हेर बिचार नगरेका भने होइनन् तर पनि आमा धौलीलाई भने आफु मरे भने छोरीको अवस्था के होला भन्ने चिन्ता छ । कला बोल्न नसके पनि हाउभाउले कुरा गर्न सक्छिन् ।

हात सिधा नभए पनि हातको इसाराले उनी कुरा गर्न सक्छिन् । हामीले बोलेका कुरा उनी सहजै सुन्न र बुझ्न सक्छन् । शारीरिक रूपमा अपाङ्गता भएपनि मानसिक रूपमा उनी स्वस्थ छिन् । सबैले बोलेका कुरा सुन्ने र इसाराको माध्यमबाट आफ्नी आमालाई उनी सुनाउने गर्छिन् । उनले इसाराले भनेका कुरा परिवारका अन्य सदस्य र हामीले नबुझे पनि आमा सजिलै बुझ्न सक्छिन् । बोल्न समेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छिन् । छोरीको अवस्था देखेर रुदाँरुदाँ आमा धौली देवीका आँखाका आशु समेत सुकिसकेका छन् ।

 “म भन्दा पहिला यो छोरी मरे भने मेरो आत्माले पनि शान्ति पाउने थियो’,उनले भनिन्,‘होइन भने आफु मरे गए पनि मेरो आत्माले शान्ति पाउने छैन ।”

जहाँ गए पनि छोरी कै चिन्ता लाग्ने गरेको उनी बताउँछिन् । छोरीको चिन्ताले गर्दा घर समेत छोड्ने मन नलाग्ने गरेको उनको भनाई छ । बृद्धा अवस्थामा छोरीलाई घर बाहिर र भित्र ल्याउने लैजाने समेत आमामा शक्ति छैन । घरमा भएका दाजु भाउजू रोजगारीका लागि भारतमा छन् । घरको आर्थिक अवस्थामा पनि नाजुक नै छ । बिहान बेलुकाको छाक टार्न समेत धौधौ हुने गरेको छ ।

आमाले गहभरी आशु खसाल्दै भनिन्,‘छोरीको राम्रोसँग पालन पोषण गरौँ भने पनि घरमा आर्थिक छैन ।’ सरकारले छोरीलाई अपाङ्गता भत्ता भनेर मासिक ३ हजार दिने गरेको छ । यो पैसाले खान लाउन पुग्दैन उनले दुखेसो पोखिन् । अहिले सम्म अन्य व्यक्ति वा संस्थाबाट समेत कुनै सहयोग नपाएको उनको दुखेसो छ । आर्थिक अभाव कै कारण अहिले सम्म छोरीको उपचारमा समेत कुनै ध्यान नदिएको उनले बताइन् ।

“छोरीको उपचार गर्न टाढा लैजाऊ भने आफूसँग पैसा छैन’,उनले भनिन्,‘आजसम्म कुनै पनि निकायबाट उपचारको लागि सहयोग समेत पाएका छैनौँ ।”

२४ सैँ घण्टा ओछ्यान मै सुतिरहने कलाका लागि राम्रो सिरानी र ओछ्याउने बिस्तारा समेत छैन । भुइँमै सुताउँदा सुताउँदा उनको पिठ्युमा छाला समेत छैन । घाउ जस्तै देखिने दाग मात्रै छन् । यी सबै कुरा आर्थिक अभाव कै कारण पुरा गर्न नसकेको आमाले बताइन । सरकारले दिने भत्ता खाद्यान्न किन्न समेत पुग्दैन ।

कहीँ कतैबाट सहयोग मिल्यो भने छोरीको लालन पालनमा सहज हुने आमाको विश्वास छ । छोरीको ज्यान बचाउनको लागि भएपनि सबैलाई सहयोग गरिदिन आमाले सबैलाई अपिल गरेकी छिन् । अपाङ्गताको पक्षमा काम गर्ने संघसंस्था पनि अहिले सम्म कलाको अवस्था बारे जानकार छैनन् । सहयोगको कुरो त परै जाओस् पूर्ण अपाङ्गता भएकी छोरीको अवस्था बारे समेत बुझ्न कोही पनि नआएको आमा बताउँछिन ।

शहर बजारमा मात्रै केन्द्रित यी संघ-संस्थाले ग्रमीण क्षेत्रका वास्तबिक आपाङ्गता भएका व्यक्तिहरुका पिरमर्का र समस्या बुझ्दै बुझ्दैनन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि आएको करोडौं आर्थिक पनि अन्यत्र खर्च गर्ने प्रवृती छ । 

महिनावारी हुँदा झनै समस्या

उमेरले १९ वर्ष पुगेकी कला महिनावारी समेत हुन थालिसकेकी छन् । महिनावारी भएको समयमा त उनलाई झनै समस्या हुने गरेको छ । अछाममा महिनावारी हुँदा किशोरी तथा महिलालाई घरभन्दा टाढा राख्ने कुप्रथा छ । यस्तो प्रथाले बस्न समेत नसक्ने कलालाई अप्ठ्यारो मात्रै होइन गोठमा राख्दा घरमा रुवाबासी नै चल्छ ।

महिनावारी हुँदा किशोरी तथा महिलालाई घर भन्दा टाढाको गोठमा राख्ने चलनले कलाको रेखदेख गर्ने घरका कुनै पनि सदस्य हुँदैनन् । उनको रेखदेख सधैँ आमा गर्दै आएकी हुन्थिन् । तर महिनावारीको समयमा आमा उनको नजिक हुँदैनन् । त्यस कारण पनि झन् समस्या उत्पन्न थालेको छ । आज सम्म उसकी दिदीलाई बोलाएर महिनावारी भएको समयमा रेखदेख गर्न लगाउने गरेको आमा बताउँछिन् ।

तर सधैँ यसरी उनीहरूलाई पनि बोलाउन नसकिने र बोलाएको समयमा उनीहरूको पनि समय हुँदैन । महिनावारी भएको समयमा सरसफाईमा बढी ध्यान दिनुपर्ने हुन्छ । तर अन्य व्यक्तिहरूले यो काम गरी नदिने हुँदा साह्रै समस्या भएको आमाको दुखेसो छ ।
 



शुक्रबार १९, कार्तिक २०७८ ११:५० मा प्रकाशित

#सुतेकी सुतै #महिनावारी #१९ बर्षदेखि #झनै समस्या #चौरपाटीकी कला

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस