भारतको सेमिफाइनल सम्भावना अफगानिस्तानको हातमा

भारतको सेमिफाइनल सम्भावना अफगानिस्तानको हातमा

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनुअघि उपाधिका लागि सबैभन्दा बलियो दाबेदार मानिएको भारत यति बेला समूह चरण पार गर्नका लागि संघर्ष गरिरहेको छ ।

भारतले लिग चरणको अन्तिम खेलमा भोलि नामिबियाविरुद्ध खेल्दै छ । तर, भारत विश्वकपको फाइनलमा पुग्ने नपुग्ने टुंगो आजै लाग्नेछ, न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलले ।

न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलले आज तीन टोलीको सेमिफाइनल पुग्ने सम्भावना टुंगाउनेछ, न्युजिल्यान्ड, अफगानिस्तान र भारतको ।

सुपर–१२ मा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलियाले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएपछि अब सबै क्रिकेटप्रेमीको ध्यान समूह २ मा केन्द्रित भएको छ । अझ भारत सेमिफाइनल पुग्ने नपुग्नेबारे सबैको चासो छ ।

भारत पहिलो खेलमा चिरर प्रतिद्वन्द्वी पाकिस्तानसँग हारेपछि सबैले चनाखोपूर्वक भारतलाई नियालिरहेका छन् । दोस्रो खेलमा न्युजिल्यान्डसँग हारेपछि भारतको खेललाई अझ चासोपूर्वक हेरिएको छ ।

आज आबुधावीस्थित जायद क्रिकेट मैदानमा नेपाली समयानुसार पौने ४ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच हुने खेलको नतिजाले भारतको पनि यात्रा निर्धारण गर्नेछ । यस समूहबाट चार खेलमा शतप्रतिशत नतिजा निकालेको पाकिस्तानले यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको छ । अब सेमिफाइनल पुग्ने एक स्थानका लागि तीनको प्रतिस्पर्धा छ ।