टी-२० विश्व कप : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित

टी-२० विश्व कप  : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित

पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङ्टनले सर्वाधिक ५४ रन जोडे । यस्तै, जर्ज मुन्शेले १७, माइकल लिस्कले १४,  कप्तान काइल कोट्जरले ९ रन जोडे ।

पाकिस्तानका शदाव खानले दुई तथा हसन अलि, हरिस राउफ र शाहिन शाह अफ्रिदीले एक/एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकीय पारीको सहयोगमा १ सय ८९ रन जोडेको थियो ।

बाबर आजमले सर्वाधिक ६६ रन  बनाए भने मलिकले ५४ रनको योगदान गरे । यस्तै, मोहम्मद हाफिजले ३१ र मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक/एक विकेट लिए । अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो।