कैलालीमा रक्सी खाएर हतियारसहित हो–हल्ला गर्ने नेपाली सेनाका मेजर पक्राउ

कैलालीमा रक्सी खाएर हतियारसहित हो–हल्ला गर्ने नेपाली सेनाका मेजर पक्राउ

धनगढी । कैलालीको चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयले हिजो आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ । प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो ।

रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । 

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेको र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् ।  

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहोल त्रसित बनेको स्थानीयवासीले बताए । उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।  स्थानीयवासीले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुङ्गामुढा गरेका थिए ।

स्थानीयको ढुङ्गामुढाबाट प्रहरीको गाडी र कार्यालयमा समेत क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका मेजर शाहीले रक्सीको नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् ।

यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् । मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।