अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चितताका लागि सहयोग गर्न आग्रह

अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चितताका लागि सहयोग गर्न आग्रह

धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको गणना सुनिश्चितताको लागि सदस्य संस्थाहरुलाई आग्रह गरेको छ । बुधवार धनगढीमा राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा अभिमुखीकरणको आयोजना गर्दै महासंघले अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चितताका लागि सहयोग गर्न आग्रह गरेको हो ।

राज्यले ल्याउने नीति तथा कार्यक्रमका लागि अपाङ्गता भएका व्यक्तिहरुको स्पष्ट तथ्याङ्क हुन आवश्यक हुने भएकाले गणनामा अपाङ्गता भएका व्यक्ति छुट्न नदिन सबैलाई सहयोगी भूमिका खेल्न अपाङ्ग महासंघ सुदूरपश्चिमकी कार्यक्रम अधिकृत प्रिया खड्काले सबैलाई आग्रह गर्नु भएको छ । उनले बिहीबारबाट सुरु हुने जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक गणना गरी तथ्याङ्क सुनिश्चितता गर्न सदस्य संस्थाहरुलाई आग्रह गरिन् ।

अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलनमा सहयोग पु¥याउन गणकहरु सँग गएर पनि सहयोग गर्नु पर्ने उनको भनाई छ । राष्ट्रिय जनगणना २०७८ मा बढी भन्दा बढी अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गर्ने अभियानमा सदस्य संस्थाहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको कार्यक्रम अधिकृत खड्काले बताइन् ।

सम्भव भएसम्म जनगणना लक्षित छलफल, घर दैलो, साङ्गीतिक प्रस्तुतीकरण जस्ता कार्यक्रमहरू सञ्चालन गर्न अपिल गरिएको छ । स्थानीय सञ्चार माध्यमसँग पनि समन्वय गरी अपाङ्गता भएका व्यक्तिलाई सहयोग पुग्ने सामाग्रीहरू प्रचारप्रसारमा जोड दिनु पर्ने कुरामा उनको जोड छ ।  यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रुपा राईले यो वर्षको जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क संकलन हुन आवश्यक रकेको बताइन् ।

यो वर्षको जनगणनामा अपाङ्गता व्यक्तिहरू छुट्न गएमा फेरी १० वर्ष कुर्न पर्ने हुँदा सम्पूर्ण व्यक्तिहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न उनको आग्रह छ । अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सदस्य संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले आफ्नोतर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क संकलनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सकेसम्म जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय, जिल्ला जनगणना अधिकारी, स्थानीय जनगणना अधिकारी, गणक र सुपरभाइजरहरु सँग निरन्तर सम्पर्कमा आफूहरु रहिरहने उनीहरूको भनाई छ । कार्यक्रममा सदस्य संस्थाको रूपमा नेत्रहीन संघ, बहिरा संघ लगायतका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुने भएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक फिल्डमा खटाउने भएको हो ।