एलपीएललाई समाजसेवी सुमित्रा बस्नेतको साथ

एलपीएललाई समाजसेवी सुमित्रा बस्नेतको साथ

धनगढी ।  धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएललाई समाजसेवी तथा खेलप्रेमी सुमित्रा बस्नेतले  ब्राउट टु यु बाई प्रायोजन गर्नु भएको छ । समाजसेवामा अग्रसर भई नेसनल क्रेटर्स अवार्ड २०२० द नेसनल हिरोज लगायतका सयौँ अवार्ड प्राप्त गर्न सफल बस्नेतले विद्यालय स्तरको खेल क्षेत्र उत्थानका लागि एलपीएललाई प्रायोजन गर्नु भएको हो । 

प्रतियोगितामा ब्राउट टु यु बाई प्रायोजक रहने गरी आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र समाजसेवी बस्नेतबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शाहीले पूर्व मेची र पश्चिम महाकालीलाई समाजसेवाको माध्यमबाट जोड्ने प्रयत्न गरिरहनुभएकी बस्नेतले खेल क्षेत्रको उत्थानका लागि समेत अग्रसरता देखाइरहनु भएको प्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । 

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।

त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । 

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता डिल्लीराज ओझा समर्पणले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।