दार्चुलाका बाढीपहिरो पीडितले घर निर्माणका लागि साढे ८ लाख पाउने

दार्चुलाका बाढीपहिरो पीडितले घर निर्माणका लागि साढे ८ लाख पाउने

दार्चुला । २०७७ जेठ ३१ गते पछि आएको बाढी र पहिरोले घर जग्गा पूर्ण रुपमा क्षति भएका दार्चुलाका १५ जनाले घर निर्माणका लागि केन्द्र सरकारबाट ८ लाख ५० हजार अनुदान पाउने भएका छन् । वर्षको जेठ ३१ पछि यता आएको बाढी र पहिरोले घर जग्गा क्षति भएका जिल्लाका १ सय ७ जना मध्ये पूर्णरुपले क्षति भएका १५ जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत तीन किस्तामा उक्त रकम पाउने प्रशासनका नायव सुब्बा रामराज पन्तले जानकारी दिए ।

घर जग्गा पूर्णरुपमा क्षति भएका १५ जनाले ३ लाख जग्गा खरिद, ५ लाख घर निर्माण र ५० हजार अस्थायी आवास निर्माणका लागि ५० हजार गरी ८ लाख ५० हजार पाउने उनले बताए । यस्तै बाढी पहिरो प्रभावित १ सय ७ जना मध्ये आशिंक क्षति भएका ३६ जनाले घर पुनःनिर्माणका लागि ५ लाख ५० हजार रुपैयाँ अनुदान पाउने नासु पन्तले जनाए ।

उनीहरुले घर निर्माणका लागि ५ लाख तथा अस्थायी आवास निर्माणका लागि ५० हजार गरी ५ लाख ५० हजार पाउने बताइएको छ । जिल्लाका ७ स्थानीय तहका बाढी प्रभावित नागरिकले केन्द्र सरकारले पठाएको अनुदान पाउने भएका हुन् । केन्द्र सरकारले दार्चुलाका बाढी र पहिरो प्रभावित १ सय ७ जना स्थानीयको घर निर्माण, घर पुनःनिर्माण, जग्गा खरीद, अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता स्वरुप ४२ लाख ७६ हजार २ सय ५० रुपैयाँ पठाएको पन्तले बताए ।

उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमा पठाएको छ । यसैगरी ५६ जनाले घर मर्मत प्रबलीकरणका लागि ५० हजार अनुदान रकम पाउने भएका छन् । २०७७ जेठ ३१ गतेपछि जिल्लाको महाकाली नगरपालिका, व्याँस, दुहुँ, मालिकार्जुन, मार्मा, नौगाड र अपिहिमाल गाउँपालिकामा बाढी र पहिरोले व्यापक क्षति गरेको थियो ।

बाढी र पहिरोले गरेको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पठाएपछि सरकारले घर निर्माण, जग्गा खरिद तथा अस्थायी आवास निर्माणका लागि अनुदान पठाएको जनाइएको छ । पहिलो किस्ताको रकम खातामा आइसकेको बताउदै पन्तले आवश्यक कागजातसहित पीडित आए कात्तिक २८ गते आइतबारदेखि नै अनुदान उपलब्ध गराइने जनाए ।