दीर्घ रोगीलाई सेती अस्पताल पुगेर फाइजर खोप लगाउन स्वास्थ्य कार्यालय कैलालीको अनुरोध

दीर्घ रोगीलाई सेती अस्पताल पुगेर फाइजर खोप लगाउन स्वास्थ्य कार्यालय कैलालीको अनुरोध

धनगढी । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दीर्घरोगीलाई सेती प्रादेशिक अस्पतालमा आएर कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप अभियान सञ्चालन गरेसँगै स्वास्थ्य कार्यालय कैलालीले पनि सेती प्रादेशिक अस्पतालमा आएर खोप लगाउन अनुरोध गरेको हो ।

यो अभियान आजदेखि सुरु भएर मंसिर ४ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । १२ वर्षमाथिका लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामीलाई खोप दिइनेछ।

यस्तै जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका, कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामीले पनि खोप पाउनेछन्।

कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मष्तिष्कका रक्तनलीसम्बन्धी रोग लागेका व्यक्तिलाई पनि खोप दिन लागिएको हो। कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएका, १२ वर्ष भन्दा कम उमेरका र खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जी भएकाले खोप लगाउन नमिल्ने बताइएको छ।