प्रदुषण खतराको तहमा पुगेपछि दिल्लीमा स्कुल र सरकारी अफिस बन्द

प्रदुषण खतराको तहमा पुगेपछि दिल्लीमा स्कुल र सरकारी अफिस बन्द

भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका लागि स्कुललगायत सबै सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । यसमा निजी अफिसहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ ।

सडकमा सवारी साधनको सङ्ख्या घटाउनका लागि यस्तो गर्न लागिएको हो । यसले गाडीबाट निस्कने धुँवाले वायु प्रदुषणमा पुग्ने योगदान कम गराउने उनीहरुको अपेक्षा छ । त्यस्तै निर्माण कार्य सम्बन्धी गतिविधि पनि निषेध गरिएको छ जसले धुलोको प्रदुषण कम गर्नेछ ।

स्कुल बन्द भए पनि अनलाइन क्लास जारी रहने बताइएको छ जसले बालबालिकाहरुको पढाइमा कुनै असर पुर्याउने छैन । महामारीका कारण स्कुलहरु लामो समय बन्द रहँदा विद्यार्थीहरले पहिले नै धेरै पढाइ गुमाइसकेका छन् ।

दिल्लीका मुख्य मन्त्रीले शनिबार बेलुका घोषणा गर्दै अहिलेका लागि पूर्ण लकडाउनमा नगएको तर छोटो समयसम्म सबै बाहिरी क्रियाकलाप बन्द गर्ने सम्बन्धी योजना बनिरहेको बताएका हुन् । हाल दिल्ली सरकारले छोटो समयका लागि शहर लकडाउन गर्ने सम्बन्धी प्रस्ताव सर्वोच्च अदालतमा पेश गरिरहेको छ ।

अहिलेका लागि चाहिँ दिल्लीलाई दुई दिन पूर्ण लकडाउन गर्नेबारे विचार भइरहेको छ । दिल्लीको हावाको गुणस्तर यतिबेला अत्याधिक खराब स्थितिमा रहेको छ । धुँवा धुलोले सास फेर्न र आँखा हेर्न मुस्किल बनाइदिएको छ ।