जलेर बालिकाको मृत्युु, एक गम्भीर

जलेर बालिकाको मृत्युु, एक गम्भीर

डडेल्धुरा– आलिताल गाउँपालिका– ८ मा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ। आगलागीमा अर्की एक बालिका गम्भीर घाइते भएकी छिन्।

मंगलबार राति गोदामबजारमा रहेको उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी ८ वर्षीय छोरी आरतीको मृत्यु भएको हो। उनकै जेठी छोरी ११ वर्षीय निरुता जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

गम्भीर घाइते निरुतालाई उपचारको लागि धनगढी लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए। 
थापाको किराना पसलबाट लागेको आगोले सँगै जोडिएका रामबहादुर धामी, दिलबहादुर रानाको पसल पनि जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले बताए।

थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला एक्कासि आगो लागेपछि र एक छोरी घाइते अवस्थामा आफैं बाहिर आएकी थिइन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।