सरकारले ज्यादती गरेको आरोपमा तरुण दलको धनगढीमा पनि प्रदर्शन

सरकारले ज्यादती गरेको आरोपमा तरुण दलको धनगढीमा पनि प्रदर्शन

धनगढीः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारले ज्यादती गरेको आरोपमा देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा पनि प्रदर्शन गरेको छ। डा. गोविन्द केसीले अघि सारेका माग सम्बोधन गर्नुपर्ने माग गर्दै शुरु भएको आन्दोलनमा सरकारले दमन गरेको विरोधमा तरुण दलले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो। 

अधिनायकवाद ओली सरकारलाई डाक्टर गोबिन्द केसीका माग पुरा गर्न दबाब दिन निकालिएको जुलुसमा प्रहरी हस्तक्षेप गरेको भन्दै तरुण दल कैलालीले त्यसको घोर विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी नाराबाजी गरेको थियो। 

काठमाण्डौँमा तरुण दलले शनिवार गरेको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजगं बस्नेत लगायतकालाई घाइते बनाएको भन्दै प्रधानमन्त्री ओली र प्रहरी विरुद्ध तरुण दल कैलालीले नाराबाजी गरेर जिल्ला प्रशासन कार्यालय अगाडी करिब १ घण्टा धर्ना दिएका हुन्। 

यसैबिच तरुण दल कैलालीले प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई ज्ञापनपत्र समेत बुझाएको छ। 

जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर बमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आन्दोलनको क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले लाठी चार्ज गरी घाइते बनाउनुका साथै शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको जनाएको छ। 

तरुण दलका अध्यक्ष बस्नेतको टाउकोमा गम्भीर चोट लागेकाले सरकारले त्यसको क्षतिपूर्ति ब्यहोर्नुपर्ने तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बहादुर बमले बताए।

यस्तै तरुण दलका अन्य नेताहरुपनि घाइते भएकाले यस्ता शान्तिपूर्ण आन्दोलनमा सरकारी दमन रोक्न गृह मन्त्रालयलाई आग्रह गरिएको छ। आफूहरूका माग पुरा नभए आन्दोलन थप चर्काउने अध्यक्ष बमले चेतावनी दिए।

नेपाल तरुण दल कैलालीका प्रवक्ता अमृत बिसीले जनताको ढाड सेक्ने गरी कर बढाउनु, डक्टर केसीका मागलाई बेवास्ता गर्नु लगायतका कामबाट सरकारले अधिनायकवादको सुरुवात गरिसकेको आरोप लगाए।

बहुमतको सरकारले जनतालाई राहत हुनेगरी काम गर्नुभन्दा दुई तिहाइको दम्भ देखाएर प्रदेश देखी केन्द्र सरकारले जनतालाई आतङ्कित हुनेगरी काम गरिरहेको उनको आरोप छ।