धनगढीमा बालकको मृत्यु: सौतेनी आमा छोराछोरीसंगै फरार

धनगढीमा बालकको मृत्यु: सौतेनी आमा छोराछोरीसंगै फरार

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाकी श्रीमती माघी रोकाया धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा बस्दै आएकी थिइन्।

उनीसंगै एक छोरा र एक छोरी पनि थिए। उनीहरु रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। जोशीको परिवार भारतमा बस्दै आएको छ भने २ कोठे घरको सम्पूर्ण जिम्मेवारी माघी रोकायालाई दिइएको थियो।

बहादुरले दोस्रो विवाह गरेपछि कान्छी श्रीमतीले माइतबाटै एक छोरा लिएर आइन्। उनी थिए १० वर्षीय निशान थापामगर। बहादुर कान्छी श्रीमतीसंगै भारतमा बस्न थाले भने निशानलाई जेठी श्रीमती माघीसंग धनगढीमा राखे। कार्तिक ३० गतेपछि माघीसंग सम्पर्क हुन नसकेपछि २ गते बहादुरले आफन्तलाई सोधीखोजी गर्न शिखर टोलस्थिल माघी बस्दै आएको घरमा पठाए। 

त्यहाँ माघी र उनका छोराछोरी थिएनन् भने १० वर्षीय निशान भने मृत फेला परे। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारी भन्छन्, ‘माघी रोकाया एक छोरा र एक छोरीसंगै कार्तिक ३० गतेदेखि नै फरार रहेको देखिन्छ। मृतकको मुखबाट फिज आएको छ। पोष्टमार्टमपछि घटनाबारे थप अनुसन्धान हुन्छ।’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा १० वर्षीय निशानको स्वभाविक मृत्यु नभई हत्या भएको हो। प्रहरीले माघी रोकायाको खोजी गरिरहेको जनाएको छ। यस्तै भारतमा रहेका बहादुर रोकाया र उनकी कान्छी श्रीमतीलाई पनि घटनाबारे जानकारी गराइएको छ।