भारतको प्रदूषणयुक्त हावाको असर नेपालमा पनि, भिजिबिलिटी घट्यो

भारतको प्रदूषणयुक्त हावाको असर नेपालमा पनि, भिजिबिलिटी घट्यो

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो।

मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो ।  अहिले हवाई सेवामा भने सञ्चालन भइरहेका छन् ।

भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । यस्तै, अहिले भारतबाट प्रदूषणयुक्त हावा नेपाल आउन थालेकाले पनि भिजिबिलिटी स्वात्तै घटेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

उहाँकाअनुसार भारतको दिल्लीको वायु प्रदूषणले अहिले नेपालमा असर पर्न थालेको छ । तर, दिल्लीको प्रदूषणयुक्त हावा नेपालमा प्रवेश गरेको बारे वातावरण विभागले भने कुनै औपचारिक जानकारी दिएको छैन । मौसमविद्ले भने प्रदूषणको असर देखिन थालेकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रदूषणबाट बच्न घर बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै प्रदूषणको मात्रा बढेका बेला मर्निङवाकमा जानु उपयुक्त नहुने पनि विज्ञले बताउँदै आएका छन् । यस्तै, मौसमविद्ले भिजिबिलिटी घटेकाले गाडी चलाउँदा र  हिँडडुल गर्दा  पनि  सावधानी अपनाउन आग्रह गरेका छन् ।

भिजिबिलिटी कम हुँदा दुर्घटनाको जोखिम धेरै हुन्छ । बिस्तारै  गाडी चलाउन र हिँडडुल गर्दा फुटपाथको प्रयोग गर्न मौसमविद्को आग्रह छ ।