भारतले अनुमती नदिएपछि नेपालकै बाटो भएर जनगणना टोली व्यास क्षेत्र लाग्यो

भारतले अनुमती नदिएपछि नेपालकै बाटो भएर जनगणना टोली व्यास क्षेत्र लाग्यो

दार्चुला ! व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरमा जनगणना गर्न सहायक जनगणना अधिकारी खगेन्द्र कार्की खटिएका छन् । भारतले छाङ्गरु जान बाटोको अनुमति नदिएपछि शुक्रवार सहायक जनगणना अधिकारी कार्की नेपालको बाटो हुदै एक जना सहयोगी लिएर त्यसतर्फ प्रस्थान गर्नुभएको छ । पटकपटक आग्रह गर्दा पनि भारतले अनुमति नदिदा नेपालकै बाटो भएर सहायक जनगणना अधिकारी कार्की व्याँस क्षेत्र हिडेको जिल्ला जनगणना कार्यालय दार्चुलाका सूचना अधिकारी जनक सिह बोहराले जानकारी दिए ।

जिल्ला प्रशासनबाट अनुमती मागेर धेरै पटक भारतको बाटो भएर जान खोज्दा भारतले जान दिएन्, उनले भने, ‘गणकलाई जान नदिएपछि आफ्नै भूमीबाट सहायक जनगणना अधिकारी कार्की र साथमा कार्यालयका सहयोगी लोकेन्द्र टेर व्याँस हिडेका छन् ।’

शुक्रवार दिउँसोतिर टोली सुन्सेरा पुगेको छ । त्यहाँबाट वडा नम्बर २ दुम्लिङ हुदै २ दिनको यात्रामा छाङ्गरु पुग्ने उनले बताए । नेपालबाट व्याँस गाउँपालिका–२ दुम्लिङसम्म मात्र बाटो रहेको छ ।
कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धारचुलाबाट छियालेक–गब्र्याङ हुँदै सीता पुल तरेर छाङ्गरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएन् । दार्चुला प्रशासनले पहिलो पटक कात्तिक २५ र ३० गते पत्र पठाएको र त्यसको कुनै जवाफ नआएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिए ।

भदौ ३ देखि १८ गते भएको सूचीकरणको बेला सुपरीवेक्षकलाई छाङ्गरु जान दिए पनि अहिले आएर गणकलाई रोक लगाएको हो । छाङ्गरु र तिंकरमा सीमित घर भएकाले गणनामा सहायक जनगणना अधिकारी कार्कीलाई त्यत्ति अप्ठ्यारो नपर्ने उनले बताए । तिंकर र छाङ्गरुमा १ सय १३ परिवारको बसोबास रहेको छ । सो क्षेत्रमा सौका समुदायको बसोबास छ चिसो बढेकाले उनीहरु अब जिल्ला सदरमुकाम खलंगा कुन्चा सर्ने तयारीमा छन् । 

भारतीय अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवातजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । व्याँस गाउँपालिका–१ स्थित कुटी, नाभी र गुञ्जी भारतीय अतिक्रमणमा छन् । ती गाउँसँगै जोडिएका तिंकर र छाङ्गरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन् ।