धनगढीका विद्यालय : सडकमा छैन जेब्रा क्रसिङ, बाटो काट्दा विद्यार्थीहरुको ज्यान धरापमा

धनगढीका विद्यालय : सडकमा छैन जेब्रा क्रसिङ, बाटो काट्दा विद्यार्थीहरुको ज्यान धरापमा

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य सडकमा जेब्रा क्रसिङ नहुँदा विद्यार्थीहरुलाई बाटो काट्न समस्या हुने गरेको छ । धनगढीस्थित बजार क्षेत्रका विद्यालय अगाडिका मुख्य सडकमा जेब्रा क्रसिङ नहुँदा विद्यार्थीहरुलाई बाटो काट्न सास्ती खेप्नु परेको हो ।

धनगढीको एलएन चोकस्थित त्रिनगर माध्यमिक विद्यालय र सिद्धार्थ शिसु सदन बोर्डिङ हाई स्कुल अगाडिको सडकमा जेब्रा क्रसिङ नहुँदा दिनहुँ दुर्घटनाको जोखिम छ । यी दुई विद्यालय त उदाहरण मात्रै हो यस्ता कयौँ विद्यालय अगाडिका सडकमा जेब्रा क्रसिङ नहुँदा विद्यार्थीहरुलाई  बाटो काट्न समस्या हुने गरेको छ । दैनिक विद्यालय जाने स–साना बालबालिकालाई त झनै सडक वारपार गर्न मुस्किल हुने गर्दछ ।

यहाँका निकै भिडभाड तथा व्यस्त हुने बजार क्षेत्रका सडकहरूमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्री विद्यार्थीहरुलाई सास्ती हुने गरेको हो । जसले गर्दा दुर्घटना हुन सक्ने सम्भावना बढी छ । धनगढीको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले पनि सोही समस्या भोग्दै आएका छ । सडकमा जेब्रा क्रसिङ नहुँदा आफूहरूले बिहान र विद्यालय छुट्टी हुने समयमा बाटो काट्न निकै समस्या हुने गरेको त्रिनगर विद्यालयकी विद्यार्थी जमुना साउँदले बताइन् ।

बिहानको समयमा सबै जना आ–आफ्नो काममा जाने हुँदा सडकमा सवारी साधनको बढी चाप हुन्छ । “बेलुकाको छुट्टी हुने समय भन्दा बिहानको समयमा झनै बाटो काट्न समस्या हुन्छ,’उनले भनिन्,‘तीव्र गतिमा गाडी आउँछन् कति बेला कसको ज्यान जान सक्छ, थाहा छैन् ।” माथिल्लो कक्षामा पढ्ने साथीहरूलाई त्यति धेरै समस्या नभए पनि स–साना भाईबहिनीहरुलाई बाटो काट्न धौधौ हुने गरेको उनी बताउँछिन् ।

बाटो काट्ने बेला अप्ठ्यारो हुने भएको कारण पनि कतिपय विद्यार्थीका अभिभावक छोरा–छोरीलाई विद्यालय पठाउन डर मान्ने गर्दछन् । भने सडक सँगै जोडिएको विद्यालयमा समेत छोरा छोरी भर्ना गर्न सोच्नु पर्ने बाध्यता अभिभावकमा छ । त्रिनगर माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू पनि ज्यान जोखिममा राखेर बाध्य हुँदै बाटो काट्ने गरेको हामी देख्न सक्छौ ।

विद्यार्थी साउँदले विद्यार्थीहरूको सहजताका लागि आफ्नो विद्यालयको अगाडि रहेको सडकमा जेब्रा क्रसिङ बनाउन माग राखेकी छिन् । सडकमा छिटो भन्दा छिटो जेब्रा क्रसिङ बनाउन उनले सम्बन्धित सबै पक्षलाई आग्रह गरिन् । उनी मात्रै होइन अन्य विद्यार्थीहरूको पनि यस्तै गुनासो छ । उनीहरूले आफूहरूले बाटो काट्दा सुरक्षित अनुभूति गर्न नपाएको दुखेसो गरेका छन् ।

पछिल्लो समय बजारमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको हो । सडकमा तीव्र गतिमा सवारी साधनहरू हुइँकी रहेका हुन्छन् । जसले गर्दा दुर्घटना हुने सम्भावना पनि उत्तिकै छ । यता विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले पनि सडकमा जेब्रा क्रसिङ नहुँदा पैदल हिँड्ने विद्यार्थी र शिक्षकलाई जोखिम रहेको स्वीकार गरेका छन् ।

विद्यालयमा अहिले विगतको भन्दा विद्यार्थीको संख्या बढेको हुँदा विद्यार्थीहरुलाई सडक वारपार गर्न समस्या हुने गरेको उनले बताए । “बिहानको समयमा सवारी साधनको चाप पनि बढी हुन्छ,’उनले भने,‘विद्यार्थीहरू पनि बिहान हतार हतारमा विद्यालय आउने भएका कारण दुर्घटना हुने जोखिम अत्यधिक छ ।” हाल त्रिनगर माध्यमिक विद्यालयमा लगभग साढे १७ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

उनीहरूलाई दैनिक बाटो काट्दा दुर्घटनामा परिन्छ की भन्ने डरले पिरोली रहन्छ । यो समस्या समाधानका लागि बेला बेलामा वडा कार्यालयलाई पनि जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक खड्काले बताए । फेरि पनि अब छिट्टै विद्यालय अगाडिको सडकमा जेब्रा क्रसिङ बनाउनको लागि विद्यालय व्यवस्थापन समितिले पहल थाल्ने उनको भनाई छ ।

साथै उनले सम्बन्धित सडक विभागलाई पनि आफूहरूको विद्यालय रहेको क्षेत्रमा सवारी साधनको चाप बढी हुने भएकाले विद्यार्थीहरूको सहजताका लागि भए पनि जेब्रा क्रसिङ बनाउन माग गरेका छन् । सडकमा जेब्रा क्रसिङ नभएकै कारण विद्यार्थीहरूले बाटो काट्न नसकेर विद्यालय ढिलो पुग्नु पर्ने समस्या छ । भने कतिपय विद्यार्थीहरुलाई शिक्षकहरूले बाटो कटाउनु पर्ने स्थिति रहेको छ ।

सबैभन्दा बढी कक्षा १० भन्दा मुनिका विद्यार्थीहरुलाई बाटो काट्न समस्या हुने गरेको हो । अहिले सम्म ठुला अप्रिय घटना नभए पनि कहिले काहीँ बाटो वारपार गर्न खोज्दा सामान्य चोटपटक लाग्ने गरेको विद्यार्थीहरूको गुनासो छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि धनगढीका मुख्य सडकहरूमा जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको जनाएको छ । सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ । तर धनगढीमा भने ट्राफिक प्रहरीले चोकमा बसेर सवारी साधनलाई हातले इशारा गर्नुपर्ने अवस्था देखिन्छ ।

सडकमा सवारी साधनको चाप दिनहुँ बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरुमा जेब्रा क्रसिङ र ट्राफिक लाइट लगायतको व्यवस्थापनमा सडक विभागले ध्यान दिनु पर्ने उनको माग छ ।

“धनगढीका सडकहरू अहिले निर्माणधिनको अवस्थामा छन्,’उनले भने,‘सडक निर्माण पश्चात् सडक विभागले सडक सुरक्षाका लागि जेब्रा क्रसिङ र ट्राफिक बत्तीको व्यवस्था गर्नु पर्छ ।” धनगढीको ट्राफिक व्यवस्थापन सम्बन्धी खाका तयार गरेर सम्बन्धित पक्षलाई आफूले बुझाए पनि कसैले चासो नदिएको उनले बताए । धनगढीमा अटो रिक्साको संख्या एक हजारको क्षमता भए पनि अहिले निजी र सार्वजनिक गरी करिब १० हजारको हाराहारीमा रहेको छ ।

'हामीले ट्राफिक व्यवस्थापन र कार्यान्वयन गर्ने मात्रै हो बनाउने अधिकार हामीलाई छैन,' उनले भने । विद्यालय सँग जोडिएको सडकमा पनि अनिवार्य जेब्रा क्रसिङको व्यवस्था गरिनु पर्ने हो । तर त्यसका लागि कसैले पनि ध्यान नदिएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिले पनि जेब्रा क्रसिङ बनाउन भन्दै सम्बन्धित सडक विभागलाई अनुरोध गर्नु पर्ने ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बोहराको भनाई छ । विद्यालय क्षेत्र मात्र होइन अहिले सम्म धनगढीको मुख्य बजार क्षेत्रको सडकमा एउटा पनि जेब्रा क्रसिङ छैन ।

जसले गर्दा सर्वसाधारण मानिसहरुले पनि यो समस्या भोग्दै आएका छन् । केही समय पहिला मुख्य मन्त्री कार्यालय अगाडि जेब्रा क्रसिङ बनाइएको भए पनि अहिले त्यो पनि रङ् खुइलिएर नदेखिने अवस्थामा छ ।