डोटीमा बाल सुधार गृह र कारागारलाई खेलकुद सामग्री प्रदान

डोटीमा बाल सुधार गृह र कारागारलाई खेलकुद सामग्री प्रदान

डोटी । साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकुद सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको खेलकुद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकुद सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए । सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा हस्तान्तरण गरिएका खेलकुद सामग्रीले कारागार तथा बालसुधार गृहमा राखिएका कैदीबन्दीलाई सहयोग पुग्ने बताए ।

उनले भने, ‘मनोरञ्जन तथा खेलकुद सामग्री नहुँदा कैदीबन्दीलाई दिन बिताउनसमेत समस्या थियो, साइन नेपालले खेलकुदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।’ संस्थाले खेलकुद सामग्री प्रदान गरेपछि कैदीबन्दी निकै खुसी भएका छन् ।

यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता वर्षासँगैको आएको बाढीपहिरा पीडितलाई पनि आज खाद्यान्नलगायत राहत सामग्री वितरण गर्ने जनाएको छ ।

उक्त संस्थाले जिल्लामा महामारी, विपद्, शिक्षा, स्वास्थ्य, छाउपडीलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।