नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणलाई

नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणलाई

सातौँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)का किरणसिंह बोगटीले जितेका छन् । नेपालगञ्जको सुर्खेत रोडमा शनिबार बिहान भएको म्याराथनमा उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन् । योसँगै उनले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् । 

किरण सागको गत संस्करणका समेत स्वर्ण पदकधारी खेलाडी हुन् । यस्तै नेपाली सेनाका नरेन्द्र रावलले  २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरेर दोस्रो स्थान हाँसिल गरे । उनले ५० हजार नगद पुरस्कार पाए ।

यसैगरी, नेपालगञ्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् । एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन् । उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजेता खेलाडी हुन् ।  एपीएफकी पुष्पा भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् । 

क्रियटिभ ह्याण्डसले सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज लगायतले म्याराथनको उद्घाटन गर्दै विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो ।