बैतडीमा जिप दुर्घटना : ५ जना मृतकको सनाखत, २ जना गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना : ५ जना मृतकको सनाखत, २ जना गम्भीर घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् । 

दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ को कलुवामोड नजिक जिप दुर्घटना हुँदा उनीहरूको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 

दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट दुलही लिएर सोही नगरपालिकाको वडा नम्बर ६ को सिमाईल गइरहेको म १ ज ३१० नम्बरको जिप आइतबार राति साढे ८ बजेको समयमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा मृत्यु हुनेहरूमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय राजेन्द्र चन्द, सोही ठाउँका ६५ वर्षीय प्रेम बहादुर चन्द, उमेर नखुलेका धन बहादुर चन्द, शेर सिंह कार्की र दशरथचन्द नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय तारा थापा रहेका छन् । 

यस्तै गम्भीर घाइते हुनेहरूमा जिप चालक डडेल्धुरा घर भएका दीपक माली र दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेराकै हर्क बहादुर चन्द रहेका छन् । 

जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभए पछि उनीहरूलाई डडेल्धुरा रेफर गरिएको बताइएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।