लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटल डिभोटी

लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटल डिभोटी

धनगढी । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटल डिभोटी एण्ड रेस्टुरेन्ट प्रालि रहने भएको छ। प्रतियोगिताको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रालिका सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिंले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम प्रदेशमै होटेल क्षेत्रमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको डिभोटी होटेलले उमेर समूहको क्रिकेट उत्थानका लागि हातेमालो गरेकोमा अध्यक्ष शाहीले हस्ताक्षरपछि धन्यवाद ज्ञापन गरे। होटेल डिभोटीले पछिल्लो समय विभिन्न अफरमार्फत ग्राहकको सेवालाई थप परिष्कृत गर्दै आएको छ।

म्यानेजर सिंका अनुसार प्रत्येक शुक्रबार म्युजिकल नाइटसहित ८ सय मा अन लिमिटेड खानाका परिकार, विद्यार्थीहरूका लागि अन्य ग्राहक भन्दा ३० प्रतिशत कम लागतमा बर्थडे पार्टी तथा अन्य खानाका परिकार र ग्रुप अफर पनि सञ्चालनमा ल्याएको छ।

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने शाहीले बताए। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन्। यस्तै सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन्। लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन्। प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता डिल्लीराज ओझा समर्पणले बताए। त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।