मैले बिग बासमा राम्रो खेल्ने हो भने नेपाली खेलाडीका लागि पनि अवसर हुनसक्छ : सन्दीप

मैले बिग बासमा राम्रो खेल्ने हो भने नेपाली खेलाडीका लागि पनि अवसर हुनसक्छ : सन्दीप

सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्न बुधबार अस्ट्रेलिया जाँदै छन् । गत वर्ष बिग बास खेलेयता उनले ग्लोबल क्रिकेट खेलेका थिएनन् । बिग बासबाटै उनी ग्लोबल क्रिकेटमा फर्किंदै छन् । 

फेब्रुअरीमा नेपालबाट ट्वान्टी–२० विश्वकप छनोट खेल्नुअघिसम्म उनी अस्ट्रेलियामै रहनेछन् । सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्दै छन् । गत सिजन पनि यही फ्रेन्चाइज टोलीबाट खेलेका सन्दीपले बिग बासमा लगातार चौथो सिजन खेल्न लागेका हुन् । पहिलो २०१८/१९ र २०१९/२० उनले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

बिग बास खेल्न एकदमै उत्साहित छु, मलाई फेरि एउटा अवसर आएको छ । म त्यहाँ गएर राम्रो खेल्ने हो भने नेपाली खेलाडीका लागि पनि अवसर हुनसक्छ । हालैको स्थिति हेर्ने हो भने नेपाली खेलाडीलाई मौका खुम्चिँदै गएको अवस्थामा मेरो उपस्थितिले थप उत्साह दिने छ,’ सन्दीपले भने ।

उनले बिग बासमा प्रतिस्पर्धा गर्नु निकै चुनौती भए पनि आफूले कहिल्यै प्रतियोगितात्मक हिसाबमा नहेरेको बताए । ‘म जहिल्यै पनि त्यहाँ गएर खेल्दा रमाउने गरेको छु । प्रतिस्पर्धा गर्नु छ भने आफैंसँग गर्ने हो, हिजो के थियो र आज के छ भनेर,’ सन्दीपले कान्तिपुरसँग भने, ‘जहिल्यै पनि केही नयाँ सिक्न चाहन्छु । यो खेल नै यस्तो हो, जुन हरेक दिन सिकिरहनुपर्छ । मैले त्यहाँ केही नयाँ सिकेर आएँ भने लगत्तै नेपालको ट्वान्टी–२० ग्लोबल छनोट र विश्वकप लिग २ का खेलहरूमा उपयोग गर्नेछु ।’